टेलिकमले थाल्यो निःशुल्क ई-सिम वितरण, के छन् विशेषता ?
अखबार टुडे
प्रकाशित:
२०७९, ३१ भाद्र

काठमाडौं, भदौ ३१ । नेपाल टेलिकमले आजदेखि आफ्ना ग्राहकहरूलाई इ–सिम वितरण थालेको छ ।

टेलिकमले दूरसञ्चार कार्यालय, सुन्धारा काउन्टरबाट आफ्ना ग्राहकहरूलाई आज विहानदेखि निःशुल्क इ–सिम वितरण सुरू गरेका हो ।

इ–सिम चल्ने मोबाइल सेट भएका ग्राहकले यो नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्नेछन् । कम्पनीका अनुसार हाल भौतिक सिमकार्ड प्रयोग गरिरहेका पोस्टपेड र प्रिपेड नम्बरका सिमलाई निःशुल्क इ–सिममा परिवर्तन गर्न सकिने छ ।

त्यसैगरी नयाँ पोस्टपेड नम्बर लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमै इ–सिम दिइने छ । नयाँ प्रिपेड नम्बरका लिने ग्राहकलाई भने निकट भविश्यमा यो सुविधा उपलब्ध हुनेछ । इ–सिम चल्ने मोबाइल सेट भएका पुराना ग्राहकले सिम लिन आवश्यक फारम भरेर बुझाउनु पर्नेछ ।

इ–सिम प्रयोगमा आएपछि सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन । मोबाइल सेटबाहेक इ–सिमलाई अन्य डिभाइस तथा स्मार्टवाच र यस्तैखाले उपकरणमा समेत प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

इ–सिमको पूरा रूप इम्बेडेड सबस्क्राइबर आइडेन्टिटी मोड्युल हो । इ–सिमले मोबाइल सेटलाई दूरसञ्चार सेवा प्रदायक कम्पनीको नेटवर्कसँग कनेक्ट गर्छ । अहिले प्रयोगमा भएका सिमकार्ड मोबाइलमा राखेपछि नेटवर्कसँग कनेक्ट हुन्छ ।

इ–सिम भने यो सुविधा भएको मोबाइल सेटमा पहिल्यै राखिएको हुन्छ । त्यसमै सेवा प्रदायकको नेटवर्क कनेक्ट हुने हो । यो सानो भए पनि यो हराउने, भाँचिने चिन्ता हुँदैन। त्यस्तै यसको प्रतिलिपि नम्बर पनि निकाल्न मिल्दैन ।

फोन हराए इ–सिमको मद्दतले फोन कुन ठाउँमा छ भन्ने पत्ता लगाउन पनि तुलनात्मक रूपमा सजिलो हुने कम्पनीका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।

अहिले बजारमा उपलब्ध मोबाइल सेटमा धेरैमा तीन वटा सिमकार्ड चल्छन्। इ–सिममा भने ग्राहकले आफ्नो उपकरणअनुसार २० वटासम्म नेटवर्क (सिमसरह) चलाउन सकिनेछ । तर एकपटकमा एउटा मात्रै नेटवर्कसँग कनेक्ट हुन्छ । त्यस्तै यसका लागि फोनमा यो फिचर हुन आवश्यक हुन्छ ।

यस्तो सुविधाले कुनै व्यक्ति विदेश जाँदैछ भने विदेशको नेटवर्क सेवा लिएरै पुरानो नेटवर्क पनि राखिराख्न सक्छ । त्यसलाई हटाउन वा अहिलेजस्तो सिम निकाल्नुपर्ने झन्झट बेहोर्नु पर्दैन ।

विदेशमा उतैको इ–सिम लिएर सहजै विदेशी नेटवर्कसँग कनेक्ट हुन सकिन्छ । आवश्यकता अनुसार नेटवर्कबाट डिस्कनेक्ट वा मोबाइलबाट उक्त इ–सिम हटाउन पनि सकिने अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया