‘अग्निपथ’ योजनाअनुसार सेनामा भर्ती नभए नेपालीलाई छुट्ट्याइएको कोटा अरूलाई बाँडिने छ: भारतीय सेना प्रमुख
अखबार टुडे
प्रकाशित:
२०७९, ३० भाद्र

काठमाडौं, ३० भदौ । भारतका सेना प्रमुख मनोज पाण्डेले नेपालले निर्णय नगरे नेपालीलाई छुट्याइएको अग्निपथ भर्ती तत्काललाई फिर्ता हुने बताएका छन् ।

बुधबार युनाइटेड सर्भिस इन्स्टिच्युसन अफ इन्डियाको कार्यक्रममा बोल्दै पाण्डेले ‘अग्निपथ’ योजनाअनुसार नेपालीहरू भारतीय सेनामा भर्ती नभए नेपालीका लागि छुट्ट्याइएको कोटा अरूलाई बाँडिने बताएका हुन् ।

पाण्डेले भने, ‘मलाई मंसिर ४ को आमनिर्वाचन अघि नेपालले कुनै निर्णय गर्छजस्तो लाग्दैन । त्यसपछि पनि उनीहरूले निर्णय गरेनन् भने त्यो कोटा अरूलाई दिइन्छ । अब के गर्ने भन्ने निर्णय नेपालले गर्छ ।’

आफूहरूले चार वर्षे अग्निपथ योजनाका फाइदाबारे नेपाली पक्षलाई बताइसकेको पाण्डेको भनाइ उद्धृत गर्दै भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ ।

गत असार पहिलो साता भारतले तीन सैनिक सेवा (स्थल, जल र वायु) मा नयाँ भर्नाका लागि अग्निपथ नामको नयाँ स्किम ल्याएको थियो। साढे १७ वर्षदेखि २३ वर्षसम्मका युवा अग्निपथ योजनाअनुसार भर्ती हुन पाउँछन् ।

यो योजनाअनुसार भर्ती हुनेहरूले ४ वर्षमात्र सेवा गर्न पाउनेछन् । त्यसपछि थोरैलाई मात्रै पूर्णकालीन सैनिकका रूपमा काम दिइनेछ भने बाँकीलाई घर पठाइनेछ । उनीहरूले पेन्सनको सुविधा पाउने छैनन् ।

नेपालले आफ्ना युवाहरूलाई पनि त्यही ४ वर्षका लागि भारतीय सेनामा भर्ती गराउन लागेको हो कि पेन्सन पाउने गरी भन्ने स्पष्ट नभएकाले पहिला त्यो स्पष्ट हुनु पर्ने बताएको छ । यसअघि सरकारले भदौ ८ मा सरकारले अग्निपथबारे स्पष्ट पार्न भारतलाई भनेको थियो ।

परराष्ट्र मन्त्री नारायण खड्काले काठमाडौंस्थित भारतीय राजदूत नवीन श्रीवास्तवलाई मन्त्रालयमा बोलाएर अग्निपथबारे स्पष्ट नभएकाले तत्काल नेपाली भर्ती नहुने बताएका थिए । अग्निपथबारे स्पष्टता नभएको भन्दै नेपालले यसपालि भारतीय सेनामा हुने भर्तीको छनोट प्रक्रिया नै रोकेको छ ।

नेपाल, भारत र बेलायतबीच १९४७ मा भएको सम्झौता अनुसार नेपालीहरू भारतीय र बेलायती सैनिकमा भर्ती हुन पाउँछन् । हरेक वर्ष नयाँ भर्ती गर्दा भारतले सुरक्षालगायत व्यवस्था मिलाइदिन नेपाल सरकारलाई पत्र पठाउँछ ।

यसपालि पनि भारतले नियमित प्रक्रियामा पत्र पठाएको थियो । उक्त पत्रमा भारतले नेपालीहरूलाई अग्निपथ योजनाअनुसार भर्ना गर्न लागेको हो कि पुरानै व्यवस्थाअनुसार भन्ने खुलाएको छैन ।

केही वर्षअघि भारतले वार्षिक ४ हजारको हाराहारीमा नेपाली भर्ती गरिन्थ्यो । पछिल्ला वर्षहरूमा त्यो संख्या घटाएर १५ सयमा पु¥याइएको छ । भारतीय सेनामा अहिले ३० हजारको हाराहारीमा नेपालीहरू कार्यरत छन् ।

मोदी सरकारले ल्याएको नयाँ योजनाअनुसार यस वर्ष ४६ हजार नयाँ भर्ना गरिनेछ । अग्निपथ योजनामा भर्ना हुनेलाई अग्निवीर भनिनेछ । यो योजनामा अफिसरबाहेकका सैनिकहरू मात्रै भर्ती गरिनेछ । यसमा महिला, पुरूष दुबै भर्ती हुन पाउनेछन् ।

अग्निवीरहरूले पहिलो वर्ष मासिक ३० हजार भारू तलब पाउने छन् भने चौथो वर्ष उनीहरूको तलब मासिक ४० हजार पुग्नेछ । अग्निपथअनुसार भर्ना भएकाहरू ३० वर्ष नपुग्दै सेवाबाट अवकाश पाउनेछन् ।

प्रतिक्रिया