
काठमाडौं, ३० भदौ । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध गरेको छ ।
काठमाडौं महानगरले २०७९ असोज १ गतेदेखि सार्वजनिक स्थानमा चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारका अन्य पदार्थको नसा लिने वा सेवन गर्ने कार्यमा निषेध गरिएको जनाएको हो ।
महानगरले आज सार्वजनिक सूचना जारी गर्दै सर्वसाधारण जनताको स्वास्थ्य, सुविधा र आर्थिक हितको अभिवृद्धि गर्ने उद्देश्य रहेको जनाएको छ ।
यदि कसैले अवज्ञा गरेमा सुर्तीजन्य पदार्थ –नियन्त्रण र नियमन गर्ने ऐन २०६८ समेतको आधारमा कारबाही गर्ने महानगरले चेतावनी दिएको छ । महानगरले नियम उल्लंघन गर्ने व्यक्तिलाई सार्वजनिक स्थलबाट बाहिर निकाल्ने वा जरिवाना गर्ने चेतावनी दिएको छ ।
जरिवाना कति हुन्छ ?
सार्वजनिक स्थलका व्यवस्थापकले आफूसँग सम्बन्धित सार्वजनिक स्थलको आवश्यकता अनुसार विभिन्न ठाउँमा धूमपान तथा सूर्ति सेवन गर्न नपाउने व्यहोराको सूचना सबैले देख्ने र पढ्न सक्ने गरी टाँस गर्नु पर्नेछ । यदि त्यसो नगर्ने व्यवस्थापकलाई पाँच हजार रुपैयाँसम्म जरिवाना हुन्छ ।
यदि कसैले सार्वजनिक स्थलमा धूमपान वा सुर्तीजन्य पदार्थ सेवन गरेमा व्यवस्थापकले ती व्यक्तिलाई सार्वजनिक स्थलबाट बाहिर निकाल्ने वा एक सय रुपैयाँ जरिवाना गर्ने वा दुबै सजायँ गर्न सक्ने कानुनी व्यवस्था छ ।
यदि सार्वजनिक स्थलकै व्यक्ति वा कर्मचारीले धूमपान वा सुर्ती सेवन गरेमा अनुशासनमा नरहेको सरह मानी सेवा शर्त सम्बन्धी कानून बमोजिम सचेत गराउने वा अन्य विभागीय कारबाही गर्ने व्यवस्था ऐनमा छ ।
