रानीको जस्तै लुगा लगाएर मजाक उडाएपछि थाइल्याण्डमा अभियन्तालाई दुई वर्ष जेल
अखबार टुडे
प्रकाशित:
२०७९, २९ भाद्र

काठमाडौं, २९ भदौ (एजेन्सी) । थाइल्याण्डको एक अदालतले रानीको जस्तै लुगा लगाएर प्रदर्शनमा उत्रिएका २५ वर्षीया अभियन्तालाई जेल सजायको फैसला सुनाएको छ ।

रसडक प्रदर्शनका क्रममा रानीको जस्तै लुगा लगाएर मजाक उडाएको भन्दै थाइल्याण्डको अदालतले अभियन्ता सी याङलाई सोमबार दुई वर्ष कैदको फैसला सुनाइएको हो ।

समाचार संस्था रोयटर्सका अनुसार सन् २०२० को प्रदर्शनमा नियतवश नै याङले रानीको मजाक उडाएको पुष्टि भएको अदालतको फैसलामा भनिएको छ ।

दुई वर्षअघिको सडक प्रदर्शनका याङ गुलाबी सिल्क पहिरनमा सजिएकी थिइन् । उनलाई एक पुरूषले छाता ओढाएका थिए । उनी रेड कार्पेटमा हिँड्दा अरू प्रदर्शनकारी उनको दर्शनका लागि भुइँमा बसेको देखिन्थ्यो ।

सामान्यतः थाइल्याण्डकी रानी त्यस्तो पहिरनमा बाहिर जाने र उनको सम्मानमा अरू भुइँमा बस्ने भएकाले यो दृश्यले नियतवश नै रानीको मजाक उडाएको अदालतको ठहर छ ।

याङले भने आफू थाइल्याण्डको सांस्कृतिक पहिरनमा सजिएको र रानीको मजाक उडाउने आफ्नो नियत नभएको उनले बयान दिएकी थिइन् ।

शाही परिवारका सदस्यको मजाक उडाएको पुष्टि भए थाइल्याण्डमा १५ वर्षसम्म जेल सजाय हुनसक्ने कानुन छ । थाइल्याण्डमा दुई वर्षयता २ सय १० जना राजनीतिक अधिकारकर्मीहरू शाही परिवारको मजाक उडाएको कसुरमा जेल चलान भएका छन् ।

प्रतिक्रिया