रूसबाट युरोप छिर्न सकिन्छ भन्ने प्रलोभनमा नपर्न नेपाली विद्यार्थीलाई दूतावासको आग्रह
अखबार टुडे
प्रकाशित:
२०७९, २९ भाद्र

काठमाडौं, भदौ २९ । रूसमा पढ्न जाँदा आकर्षक जागिर पाइने र त्यहीँबाट युरोप छिर्न सकिने प्रलोभनमा नपर्न नेपाली विद्यार्थीलाई आग्रह गरिएको छ ।

मस्कोस्थित नेपाली राजदूतावासले मंगलबार एक विज्ञप्ति जारी गर्दै नेपालका विभिन्न शैक्षिक परामर्श केन्द्रहरूमार्फत स्टुडेन्ट भिसामा रसिया आउने नेपालीहरूलाई परामर्श केन्द्रहरूले कबुल गरे बमोजिमको अवसर नरहेको बताएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘शैक्षिक परामर्श केन्द्रहरूमार्फत स्टुडेन्ट भिसामा रसिया आउने नेपालीहरूले ‘रसियामा आकर्षक रोजगारीको अवसर रहेको, रसियाबाट सजिलै युरोप जान सकिने सम्भावना रहेको’ लगायतका विभिन्न प्रलोभनमा परी मोटो रकम बुझाएर रसिया आएको तर यहाँ परामर्श केन्द्रहरूले कबुल गरे बमोजिमको अवसर नरहेको एवं भाषागत समस्याका कारण यहाँको दैनिकी समेत कष्टकर रहेको छ ।’

नेपाल फर्किन सहजीकरण गर्न अनुरोध गर्दैसम्पर्क गर्ने गरेको दूतावासले जनाएको छ । दूतावासले थप भनेको छ, ‘तिनैमध्येका केही विद्यार्थी परिवारबाट सम्पर्कविहीन भएको एवं ठूलो मानसिक तनावमा रहेको भनी खोजी गरिदिन घर परिवारबाट समेत अनुरोध भई आएको छ ।’

रूसी महासंघका राम्रा विश्वविद्यालयहरुमा छात्रवृत्तिमा एवं नितान्त रूपमा अध्ययनका लागि आउने विद्यार्थीहरुलाई यहाँ यथेष्ट अवसर रहेका उल्लेख गर्दै राजदूतावासले भाषिक ज्ञानको अभावमा तथा यहाँको वस्तुस्थिति नबुझी विभिन्न प्रलोभनमा परेर आउनुभएका विद्यार्थीहरू अनेकन समस्यामा पर्ने गरेको बताएको छ ।

स्टुडेन्ट भिसामा रूसी महासंघ आउँदा नितान्त अध्ययनबाहेक अन्य कुनै प्रकारको आश्वासन–प्रलोभनमा नपर्न सबै नेपाली विद्यार्थी तथा अभिभावकलाई दूतावासले अनुरोध गरेको छ । यो विषयमा थप जानकारीका लागि दूतावासमा सम्पर्क गर्न पनि भनिएको छ ।

प्रतिक्रिया