नेपालद्वारा पाकिस्तानलाई २२ टनभन्दा बढी सहायता सामग्री प्रदान
अखबार टुडे
प्रकाशित:
२०७९, २८ भाद्र

काठमाडौं, २८ भदौं । नेपाल सरकारले विपदमा परेको पाकिस्तानलाई राहतस्वरूप २२ टनभन्दा बढी अत्यावश्यक मानवीय सहायता सामग्री पठाएको छ ।

पाकिस्तानमा हालै गएको बाढीपहिरोजन्य घटनाका पीडितलाई राहतस्वरूप मंगलबार सहायता सामग्री उपलब्ध गराइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उक्त सहायता सामग्री राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको वाइडबडी ए ३३० जहाजमार्फत् आइतबार पाकिस्तानको कराँची सहर पठाइएको हो ।

विपत्तिमा परेको पाकिस्तान सरकार र जनताको सहयोगस्वरूप २२ टनभन्दा बढी राहत सामग्री पठाइएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् । उनका अनुसार राहत सामग्री कराँची पठाउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लम्सालले अत्यावश्यक औषधि तथा राहत सामग्री पठाइएको छ ।

यो सहायता सामग्री नेपाल सरकारले एकैपटक उपलब्ध गराएको हालसम्मकै ठूलो राहत भएको प्रवक्ता लम्सालको भनाइ छ । ‘हाल पाकिस्तानलाई प्रदान गरिएको राहत सामग्री नेपाल सरकारद्वारा एकैपटकमा कुनै मुलुकलाई प्रदान गरिएको हालसम्मकै ठूलो परिमाणको सामग्री हो,’ उनले भनिन् ।

नेपालबाट प्रदान गरिने राहत सामग्रीको संयोजन तथा समन्वयमा परराष्ट्रमन्त्री डा नारायण खड्काको निरन्तर पहलबाट भएको मन्त्रालयले जनाएको छ । विमानस्थलमा परराष्ट्रमन्त्री नारायण खड्काले कराँची जाने टोलीलाई बिदाइ गरेका थिए ।

राहत सामग्री हस्तान्तरण गर्न परराष्ट्र मन्त्रालयका प्रवक्ता लम्सालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल कराँची प्रस्थान गरेको हो । टोलीमा गृह मन्त्रालय, अर्थ मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, स्वास्थ्य सेवा विभागका पदाधिकारी तथा सञ्चारकर्मी सहभागी थिए ।

पाकिस्तानमा हालै आएको मनसुनी वर्षापछिको विनाशकारी बाढीले ठूलो जनधनको क्षति भएकामा उक्त बाढीले पु¥याएको क्षतिप्रति समवेदना प्रकट गर्दै नेपाल सरकारोतर्फबाट पाकिस्तान सरकार तथा जनतालाई सहायता स्वरूप यही भदौ २१ गतेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो ।

मित्रराष्ट्र पाकिस्तानसँग २० मार्च १९६० मा कूटनीतिक सम्बन्ध स्थापित भएदेखि नै दुई देशबीच घनिष्ट सम्बन्ध रहँदै आएको छ । दुवै मुलुकका बीचमा सरकार तथा जनस्तरमा सहयोगात्मक सम्बन्ध विद्यमान हुनुका साथै प्राकृतिक प्रकोपका समयमा एक आपसमा सहयोग गर्ने परम्परा रहेको छ ।

प्रतिक्रिया