साईबर ब्यूरोले भन्यो- बच्चा चोरी गर्ने गिरोह भित्रिएको कुनै सूचना छैन, भ्रम फैलाए कारबाही हुन्छ
अखबार टुडे
प्रकाशित:
२०७९, २८ भाद्र

काठमाडौं, २८ भदौं । प्रहरीले बच्चा चोरी गर्ने गिरोह नेपाल प्रवेश गरेको भन्ने कुनै सूचना नभएको जनाएको छ । केही दिनयता सामाजिक सञ्जालमा भारतबाट बच्चा चोरी गर्ने गिरोह नेपाल भित्रिएको भन्ने हल्ला भइरहेको बेला साइबल व्यूरोले एक सूचना जारी गर्दै सामाजिक सञ्जालमा भ्रम फैलाइएजस्तो कुनै पनि सूचना प्रहरीमा नआएको जनाएको हो ।

केन्द्रीय साईबर ब्यूरोले सूचनामा भनेको छ, ‘सामाजिक सञ्जालमा पोष्ट भएको भ्रामक प्रचारमा उल्लेख भएझैं देशभर रहेका कुनै पनि प्रहरी कार्यालयमा हालसम्म कुनै पनि माध्यमबाट कुनै पनि उजुरी÷सूचना प्राप्त भएको छैन ।’

पछिल्ला केही दिनयता फेसबुकलगायतका सामाजिक सञ्जालमा भारतबाट जोगी र माग्नेको भेषमा बच्चा चोरी गर्ने व्यक्ति नेपाल प्रवेश गरेको अफवाह फैलिएपछि साइबर व्यूरोले सूचना जारी गरी यस्तो अपवाह फैलाउनेलाई कारबाहीको चेतावनी दिएको छ ।

‘सामाजिक सञ्जालमा त्यस्तो भ्रामक प्रचार गर्ने जोकोहीलाई पनि नेपालको प्रचलित ऐन, कानून बमोजिम कानूनी कारबाही गरिने ब्यहोरासमेत जानकारी गराउँदछौं’ सूचनामा उल्लेख छ ।

प्रहरीले सामाजिक सञ्जालमा भ्रम फैलाइएजस्तो नेपालका कुनै पनि प्रहरी युनिटमा त्यस्तो सूचना प्राप्त नभएको उल्लेख गरेको छ ।
सामाजिक सञ्जालमा आएका सूचना भ्रामक भएको भन्दै व्यूरोले विश्वास नगर्न र त्यस्ता कुनै अपराधसँग सम्बन्धित सूचना भए प्रहरी कार्यालयमा खबर गर्न सूचित गरेको छ ।

साथै, सामाजिक सञ्जालमा बच्चा चोरी हुने सूचना भाइरल भएपछि नागरिक आतंकित भएका छन् । विद्यालय र सरोकारवालाले समेत सतर्क रहन सूचना जारी गरेका छन् ।

प्रतिक्रिया