लेखक सुबिनको नयाँ उपन्यासको लोकार्पण पाठक आफैंले गरे
अखबार टुडे
प्रकाशित:
२०७९, २८ भाद्र

काठमाडौं, २८ भदौं । लोकप्रिय लेखक सुबिन भट्टराईको नयाँ उपन्यास ‘इजोरिया’ लोकार्पण गरिएको छ । किताब जात्राका अवसरमा काठमाडौंको प्रज्ञा–प्रतिष्ठान, डबलीमा शुक्रबार आयोजित विशेष कार्यक्रममा पाठकका हातबाट ‘इजोरिया’ लोकार्पण गरियो ।

कार्यक्रममा सहभागी दर्शकलाई आफूले लिएका पुस्तक प्रदर्शन गर्न लगाएर पुस्तक सार्वजनिक गरिएको हो । फरक किसिमले पुस्तक लोकार्पण गर्न यस्तो शैली अपनाइएको प्रकाशक फाइनप्रिन्टले जनाएको छ ।

कार्यक्रममा लेखक भट्टराईसँग कवियित्री अस्मिता गौतमले अन्तर्संवादसमेत गरिन् । साथै उक्त अवसरमा गायिका समृद्धि राईले साङ्गीतिक प्रस्तुतिसमेत दिएकी थिइन् ।

उपन्यास ‘समर लभ’ र ‘साया’बाट चर्चित लेखक भट्टराईले पछिल्लो समय आफ्नो लेखनमा थप विविधता ल्याइरहेको प्रकाशक फाइनप्रिन्टका अजित बरालले बताए ।

‘सुबिनजीका प्रत्येक नयाँ पुस्तक मलाई अघिल्ला पुस्तकभन्दा पृथक लाग्छन् । ‘इजोरिया’सम्म आइपुग्दा त उनी पूर्ण अर्कै लेखक भएर देखापरेका छन्,’ बरालले भने, ‘यौन हिंसाका घटना बढिरहेको योे समयमा उनको नयाँ उपन्यास एकदम सामयिक लाग्छ । यसले यौन हिंसाबारे बोल्न मानिसलाई उत्प्रेरित पनि गर्छ ।’

सुबिन भट्टराई नेपालका सर्वाधिक बिक्री हुने लेखक हुन् । प्रायः बेस्टसेलिङ पुस्तकका लेखकलाई झैं उनका पुस्तकलाई पनि सस्तो मनोरञ्जन भनेर आलोचना गरिन्छ । तर आफूलाई उनको लेखाइ ‘साहित्यिक लेख्ने’ भनेर चिनिएका लेखकहरूको लेखनभन्दा पनि राम्रो लाग्ने बरालको दाबी छ ।

कार्यक्रममा लेखक भट्टराईले आफ्नो उपन्यास ‘इजोरिया’ बहुआयामिक कथा रहेको बताए । पारिवारका सदस्यबीच देखिएको प्रेम, घृणा र द्वन्द्वलाई आफूले विषयका रूपमा लिएको उनको भनाइ छ । ‘मैले उपन्यासमा मित्रताको सुगन्धलाई समेटेको छु । यहाँ महिलाका पीडा छन् । तिनका सङ्घर्ष पनि छन् । प्रेम र वियोगका झिना रेखा पनि छन्,’ उनले भने ।

भट्टराईले यसअघिका सबै पुस्तक लगभग काठमाडौं केन्द्रित भएर लेखे । उनका पात्र पनि सहरकेन्द्रित नै भए । यस पटक भने उनी कथा टिप्न मधेस पुगेका छन् ।

‘यस पटक केही फरक गरौँ, केही फरक भूगोलको कथा रचौँ भन्ने लाग्यो । केही चुनौती आफैँलाई दिएँ । र झरेँ, मधेसतिर, केही फरक विषयको फुर्को समातेर,’ लेखक भट्टराईले भने, ‘फरक गर्ने प्रयत्न गर्दागर्दै पनि मैले मान्छे–मान्छेबीचका सम्बन्धका विभिन्न पक्ष केलाउने कामलाई यहाँ आएर छाडेको छैन । झन् गहिराइमा पसेर गरें भन्ने लागेको छ ।’

कथा जुन भूगोलको भए पनि, जहाँको लेखिए पनि ‘इजोरिया’को कथामा उल्लिखित समस्या एउटै भूगोलको मात्र होइन, यो विश्वभरकै समस्या हो । हामीलाई उपन्यास पढ्दा यहाँका पात्र केवल प्रतिनिधि मात्र हुन् झैं लाग्छ । कथामा भएका पात्रका भावको त कुनै भूगोल र सिमाना नहुँदो रहेछ भन्ने पनि अनुभूति हुन्छ ।

‘त्यसैले आफूले कहिल्यै प्रवेश नगरेको, नबुझेको मिथिलाको परिवेशमाथि लेख्नु चुनौती त थियो नै,’ लेखक भट्टराईले आफ्नो लेखन अनुभव सुनाए, ‘तर त्यहाँ बस्दै जाँदा, विभिन्न साथीभाइ, अग्रज सबैसित सङ्गत हुँदै जाँदा त्यो चुनौती प्रिय र रुचिकर बन्दै गयो । जनकपुर मेरो दोस्रो घर झैँ लाग्न थाल्यो । जनकपुरले पनि मलाई बिछट्टै स्नेह दियो । बारम्बार गइरहन मन लाग्ने बनायो । पुस्तक लेखिइसकियो तर अब पनि वर्षमा एकदुई पटक जान्छु भन्ने प्रतिबद्धता आफैँमा गरेको छु ।’

सुबिन भट्टराईका पाठकलाई थाहै छ— उनी विषय होस् वा शैली; हर पुस्तकमा नयाँ गर्छन् । ‘कथाकी पात्र’, ‘समर लभ’, ‘प्रिय सुफी’ हुँदै ‘इजोरिया’सम्म आइपुग्दा उनी भाषा, भाव र भूगोलमा थप बलियो बनेका छन् । उनको मनोवैज्ञानिक सम्बन्ध–साहित्य सदाबहार छँदै छ । सुबिन ट्रेन्ड सेटर हुन्, जो कहिल्यै ‘कम्फर्ट जोन’मा बस्दैनन् । र यस पुस्तकबाट हर पाठक सुबिनको नयाँ ‘जोन’ चुमेर चमत्कृत हुनेछन् ।

इजोरिया मित्रताको कथा हो । इजोरिया महिलाको कथा हो । इजोरिया मधेसको कथा हो । इजोरिया मुक्तिको कथा हो । इजोरिया माया र ममताको कथा हो । इजोरिया मुटुको मसीले लेखिएको म्युजिकल महाकथा हो ।

प्रतिक्रिया