साफ महिला च्याम्पियनसिप फुटबल : नेपाल सेमिफाइनलमा प्रवेश
अखबार टुडे
प्रकाशित:
२०७९, २७ भाद्र

काठमाडौं, २७ भदौं । साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा श्रीलंकालाई ६–० गोलको अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाललाई जित दिलाउन अमिसा कार्कीले दुई गोल गरिन् । त्यस्तै रश्मी घिसिङ, सरु लिम्बू, अमृता जैशी र दिपा शाहीले एक÷एक गोल गरे । खेलको १०औँ मिनेटमा रश्मीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् ।

उनले हिरा कुमारी भुजेलको पासमा गोल गरेकी थिइन् । त्यसको एक मिनेटपछि सरुले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् । उनले पुनम जर्घा मगरको पासमा गोल गरेकी हुन् ।

नेपालले १७औँ मिनेटमा अमृताले गोल गर्दै नेपाललाई ३–० को दिलाए । पहिलो हाफको इन्ज्युरी समयमा दीपा शाहीले गोल गर्दा नेपालले पहिलो हाफमा ४–० गोलको अग्रता लिएको थियो ।

खेलको ७६औं मिनेटमा अमिसाले गोल गर्दै नेपाललाई ५–० गोलको अग्रता दिलाइन् । अमिसाले खेलको इन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ६–० गोलको जित दिलाइन् ।

नेपाल सोमबारको खेलमा जित निकाल्दै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालले अब सेमिफाइनल प्रतिद्वन्द्वीका लागि बंगलादेश र भारतबीचको खेलको नतिजा पर्खनुपर्ने हुन्छ ।

प्रतिक्रिया