चिनियाँ जनकंग्रेसका अध्यक्ष ली काठमाडौंमा, यस्तो छ भ्रमण कार्यसूची
अखबार टुडे
प्रकाशित:
२०७९, २७ भाद्र

काठमाडौं, २७ भदौ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) स्थायी समितिको राष्ट्रिय जनकंग्रेस अध्यक्ष ली झान्शु काठमाडौं आइपुगेका छन् ।

उनी सोमबार दिउँसो ३ बजे त्रिभुवन विमानस्थलमा उत्रिएका हुन् । उनलाई स्वागत गर्न सभामुख अग्निप्रसाद सापकोटालगायतको टोली विमानस्थलमा पुगेको थियो ।

अध्यक्ष लीले चारदिने भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नेछन् । यसैगरी प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उनले भेट गर्ने कार्यक्रम छ ।

सभामुख सापकोटा र अध्यक्ष लीले आज प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नुहुने मन्त्रालयले जनाएको छ । आजै सभामुख सापकोटाले अध्यक्ष ली र उहाँको प्रतिनिधिमण्डलका सदस्यको सम्मानमा भोजको आयोजना गर्नेछन् ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री डा नारायण खड्कासँग पनि अध्यक्ष लीको भेट हुनेछ ।प्रतिनिधिमण्डलले नेपालको औपचारिक भ्रमणका क्रममा भक्तपुरस्थित दरबार क्षेत्रमा भूकम्पपछि पुनः निर्माण भएका संरचनाको अवलोकन भ्रमण गर्नेछन् ।

अध्यक्ष लीको नेतृत्वमा छ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको मन्त्रालयले जनाएको छ । अध्यक्ष ली भ्रमण सम्पन्न गरी यही भदौ ३० गते बिहीबार बिहान दक्षिण कोरिया प्रस्ताथन गर्नेछन् ।

प्रतिक्रिया