अलमुताइरीद्वारा नेपालको प्रमुख प्रशिक्षक छाडेको घोषणा
अखबार टुडे
प्रकाशित:
२०७९, २६ भाद्र

काठमाडौं, २६ भदौ । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जिम्मेवारी छाडेको घोषणा गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत आफूले नेपालको कार्यकाल सकेको घोषणा गरेका हुन् ।

उनले लेखेका छन्, ‘नेपाली फुटबलको सेवामा ५२५ दिनपछि राष्ट्रिय टोलीको प्रशिक्षक पदमा आफ्नो कार्यकाल समाप्त भएको घोषणा गर्दछु । खुशी, माया, दुःख र पीडा बिनाको यो यात्रामा मलाई साथ दिनुहुने सबैलाई धन्यवाद ।’

हाल विदामा रहेका अलमुताइरी आफ्नो देश कुवेतमा छन् । नेपालले एएफसी एसिया कपको छनोट कुवेतमा खेलेपछि उनी उपाचारका लागि उतै बसेका थिए ।

एएफसी एसिया कप छनोटअघि अलमुताइरी र राष्ट्रिय टिमका १० जना खेलाडीबीच विवाद भएको थियो । विवादका कारण उनले खेलाडीलाई क्याम्प छाड्न निर्देशन दिएपछि खेलाडी र प्रशिक्षक विवादले उग्ररुप लिएको थियो ।

त्यसपछि एन्फाले गठन गरेको कार्यदलले विवादमा आइरहने अलमुताइरीको विकल्प खोज्न एन्फालाई सिफारिस गरेको थियो ।

एन्फा र अलमुताइरीबीच सन् २०२४ सम्मका लागि सम्झौता छ । उनलाई खान र बस्न एन्फाले व्यवस्था गरे पनि तलब भने कतार फुटबल एसोसिएसनले उपलब्ध गराउँदै आएको छ । कतारले सहयोगस्वरुप प्रो–लाइसेन्सप्राप्त अलमुताइरीलाई २०७७ को चैतमा नेपाल पठाएको थियो ।

प्रतिक्रिया