वीरेन्द्रभक्तले जब १० इन्च लामो सुइरोले जिब्रो छेडाए…
अखबार टुडे
प्रकाशित:
२०७९, २६ भाद्र

भक्तपुर, २६ भदौं । भक्तपुरको मध्यपुरथिमिमा शनिबार राती जिब्रो छेड्ने जात्रा सम्पन्न भएको छ ।

मध्यपुरथिमिका वीरेन्द्रभक्त गजुँ श्रेष्ठले जिब्रो छेडेर नगर परिक्रमा समेत गरेका छन् । येँया अर्थात् इन्द्रजात्राका अवसरमा शनिबार राति मध्यपुरथिमिस्थित दिगु भैरव मन्दिर अगाडि डबलीमा उनले जिब्रो छेडाएका हुन ।

दश इन्च लामो सुइरोले जिब्रो छेडेर उनले १७ दीपसहित अर्ध चन्द्राकार भ्यें बोकी थिमि परिक्रमा गरे । योसँगै थिमिमा मनाउने ‘येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा ९जिब्रो छेड्ने जात्रा०’ गएराति सम्पन्न गरिएको हो ।

परम्पराअनुसार वीरेन्द्रभक्तले मूल नकर्मी रामभक्त नकर्मीलाई जिब्रो छेड्ने नातु ९सुइरो० बनाउन सम्ये बजीसहितको पूजा दिएर आग्रह गरेपछि तीन साताअघि नै नकर्मीले जिब्रो छेड्ने सुइरो तयार गरी शुद्ध तोरीको तेलमा डुबाएर राखेको १० इन्च लामो सुइरो राखिएको थियो ।

जिब्रो छेड्ने मान्छे दिनभरि निराहार बस्ने र कसैसँग बोल्न नहुुने परम्परा छ । बालकुमारीबाट पूजा गरेर आएपछि अर्ध चन्द्रमा आकारको महादिप ९भ्ये० बनाइन्छ । बेलुकी बालकुमारीदेखि दिगुभैरवसम्मका मन्दिरमा परिक्रमा हुन्छ र बत्ती दिइन्छ ।

श्रेष्ठले यसअघि विसं २०७४ मा जिब्रो छेडाएका थिए । धेरै वर्षसम्म आर्थिक अभावका कारण पटक–पटक रोकिँदै आएको यस जात्रा विसं २०५३, २०५९ र २०६३ मा पनि सञ्चालन भएको थियो । त्यसपछि रोकिएको जात्रा विसं २०७४ मा स्थानीय तहका निर्वाचन जनप्रतिनिधिले बजेट व्यवस्थापन गर्दै जात्रा पुनः सञ्चालनमा ल्याएको थियो ।

स्थानीयलाई दुःख दिने भूतप्रेत भगाउन मध्यपुरथिमिका श्रेष्ठ थरका साहसी व्यक्तिले हरेक वर्ष जिब्रो छेड्ने परम्परा चलाएको स्थानीय बताउँछन् ।

प्रतिक्रिया