भारतले चामल निर्यातमा लगायो २० प्रतिशत कर, नेपालमा भाउ बढ्ने
अखबार टुडे
प्रकाशित:
२०७९, २४ भाद्र

काठमाडौं, २४ भाद्र । भारतले आन्तरिक आपूर्तिलाई सहज बनाउन भन्दै चामल निर्यातमा २० प्रतिशत कर लगाएको छ ।

भारतले एकपछि अर्को निर्णय गर्दै खाद्यान्न निर्यातमा कडाइ गर्दै लगेको छ । यसअघि गहुँ, चिनी निर्यातमा प्रतिबन्ध लगाएको थियो ।

बासमतीबाहेकको अन्य चामल निर्यातमा २० प्रतिशत निर्यात भन्सार महसुल लगाउने निर्णय गरेको रोयटर्सले जनाएको छ । यो वर्ष धानको उत्पादन घटेका कारणले पनि निर्यातमा कडाइ गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतले विश्वका १५० भन्दा बढी देशमा चामल निर्यात गर्दै आएको छ भने चीनपछि विश्वकै सबैभन्दा बढी धान उत्पादन गर्ने देश हो । विश्भर उत्पादन हुने धानमा भारतको ४० प्रतिशत हिस्सा छ ।

भारत सरकारले सन् २०२१÷२२ मा मात्रै २ करोड १२ लाख टन चामल निर्यात गरेको थियो । जसमा भारत सरकारले बासमति चामल मात्रै ३९ लाख ४० हजार टन निर्यात गरेको थियो ।

भारतले चामल निर्यातमा २० प्र्रतिशत कर लगाएसँगै नेपालमा पनि चामलको भाउ बढ्ने भएको छ । नेपालमा वार्षिक करिब ५० अर्बको धान र चामल आयात हुने गरेको छ, भारतबाट आउने परिमाण उच्च छ ।

भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा कुल ४७ अर्ब ३५ करोड रुपैयाँको धान र चामल आयात भएको छ । कुल आयात हुने वस्तुमा धान र चामलको हिस्सा २.५ प्रतिशत छ ।

प्रतिक्रिया