प्रचण्ड भन्छन्- अब पनि राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरे दुईटा कुरा हुन्छ
अखबार टुडे
प्रकाशित:
२०७९, २४ भाद्र

काठमाडौं, २४ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदको दुवै सदनबाट दोस्रो पटक पारित भएको नागरिकता विधेयक राष्ट्रपतिले पारित गर्नेमा विश्वास व्यक्त गरेका छन् ।

उनले भने, ‘दोस्रोपटक संविधानले कुनै ठाउँ नै दिएको छैन त्यसकारण राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नुहुन्छ भन्ने नै लाग्छ ।’

राष्ट्रपतिले दोस्रो पटक पनि नागरिकता विधेयक पारित नगरे दुइटा कुरा सम्भावना रहने उनले बताए । आज पोखरामा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले भने, ‘पहिलो यो विषय अदालतमा जान्छ । दोस्रो, राष्ट्रपतिले राजीनामा दिनुपर्ने स्थिति आउँछ ।’

केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग आफूले भेटवार्ता गर्दा ठूलै राजनीतिक विषय बनाउने सम्भावना देखेको पनि प्रचण्डले बताए ।
उनले भने, ‘मैले केही दिनअगाडि राष्ट्रपतिसँग भेट गर्दा उहाँचाहिँ यो विषयलाई अलि ठूलै राजनीतिक विषय बनाउने सम्भावना देखेको थिएँ । त्यसकारण नगर्ने सम्भावना पनि छ । त्यसो भयो भने अदालतमा जान्छ यो इस्यु । अदालतको फैसलापछि त्यो अघि बढ्छ । दोस्रो उहाँले राजीनामा दिनुपर्ने स्थिति आउँछ ।’

नागरिकता विधेयक प्रमाणीकरण नगर्ने हो भने राजीनामा दिनुपर्ने स्थिति आउनेबारे आफूले राष्ट्रपतिलाई बताएको प्रचण्डले दाबी गरे । राष्ट्रपतिले गत भदौ १५ गते शितल निवासमा प्रचण्डसँग कुराकानी गरेकी थिइन् ।

संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक राष्ट्रपतिले सन्देशसहित पुनः संसदमा फिर्ता गरेकी थिइन् । उक्त विधेयक प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पुनः पारित भई सभामुखले प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइसकेका छन् ।

सोक्रममा आफुलाई प्रधानमन्त्री पद प्राथमिकतामा नरहेको पनि बताए । गठबन्धनमा निर्वाचनपछि प्रधानमन्त्री को भन्ने विषयमा विवाद हुँदा सहमति नजुटेको भन्ने बाहिर आएको हल्लामा सत्यता नरहेको उनको भनाइ छ । उनले गठबन्धनमा सिट बाँडफाँटमा ठूलो असहमति नरहेको पनि बताए ।

प्रतिक्रिया