चार वटा मोडलमा सार्वजनिक भयो आईफोन १४, के छन् विशेषता ?
अखबार टुडे
प्रकाशित:
२०७९, २३ भाद्र

काठमाण्डौं, २३ भदौ । मोबाइल निर्माता कम्पनी एप्पलले चार मोडलका आइफोन, तीन मोडलका घडी र एयरपड्स सार्वजनिक गरेको छ ।

गएराति बुधबार ‘फार आउट’ इभेन्ट मार्फत एप्पलले आइफोन १४, आइफोन १४ प्लस, आइफोन १४ प्रो, आइफोन १४ प्रो म्याक्स, एप्पल वाच सिरिज ८, एप्पल वाच एसइ, एप्पल वाच अल्ट्रा र एयरपड्स प्रो २ सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार आइफोन १४ र १४ प्लस फाइभ-जी फोन हो । यो कालो, निलो, स्टारलाइट, बैजनी र रातो गरी पाँच रङमा उपलब्ध हुनेछ । यसको ब्याट्री पहिलेभन्दा राम्रो भएको कम्पनीको भनाइ छ । यिनमा चिपसेट पनि पहिलेकै छ । यसमा १२ मेगापिक्सलका दुई क्यामरा छन् ।

कम्पनीका अनुसार आइफोन १४ र आइफोन १४ प्लसमा दुर्घटना भएको सूचना दिने क्र्यास डिटेक्सन फिचर छ । दुर्घटना भएको सूचनासँगै यसले आपतकालीन कल गर्ने संकेत दिन्छ ।

यसमा आपतकालीन समयका लागि ’इमरजेन्सी एसओएस’ फिचर छ। यसले फोनमा सिग्नल नभएका बेला स्याटलाइटमार्फत् सन्देश पठाउने सुविधा दिने बताइएको छ । मोबाइलको एन्टेनाले स्याटलाइट फ्रिक्वेन्सीसँग कनेक्ट गर्नेछ । कम्पनीका अनुसार आकाश सफा भएका बेला यसले १५ सेकेन्डमै सन्देश पठाउन सक्छ ।

आइफोन १४ को स्क्रिन आकार पहिलेकै जत्रो, ६.१ इन्चको छ भने आइफोन १४ प्लसको भने ठूलो छ, ६.७ इन्चको रहेको छ । कम्पनीका अनुसार आईफोन १४ को मूल्य करिब १ लाख १ हजार रुपैयाँ (७९९ डलर) तोकिएको छ । त्यस्तै आईफोन १४ प्लसको मूल्य करिब १ लाख १३ हजार ८ सय रुपैयाँ (८९९ डलर) रहेको छ ।

यस्तै, आइफोन १४ प्रो र प्रो म्याक्समा आइफोन १४ मा भएका फिचरसँगै अरू धेरै नयाँ फिचर रहेको कम्पनीले जनाएको छ । यसको डिस्प्ले नचलाउँदा पनि सधैं अन हुने गरी बनाइएको छ । तीन वटा क्यामरा भएको यसमा ४८ मेगापिक्सलको मुख्य क्यामरा छ ।

यो गाढा बैजनी, सिल्भर, गोल्ड र कालो गरी चार रङमा उपलब्ध छ । यसको चिपसेट आइफोन १४ र आइफोन १४ प्लसको भन्दा परिस्कृत छ । आइफोन १४ प्रोको स्क्रिन ६.१ इन्च छ भने प्रो म्याक्सको ६.७ इन्च छ ।

कम्पनीले आईफोन १४ को प्रो र प्रो म्याक्स मोडलको मूल्य क्रमशः करिब १ लाख २६ हजार ५ सय रुपैयाँ (९९९ डलर) र करिब १ लाख ३९ हजार २ सय रुपैयाँ (१०९९ डलर) तोकेको छ । नयाँ आइफोनहरूमा सेरामिक शिल्ड छ जुन अरू फोनको भन्दा एकदमै बलियो भएको कम्पनीको दाबी छ ।

त्यस्तै अमेरिकामा आइफोन १४ का मोडलमा सिम कार्ड राख्ने ठाउँ छैन । यसमा डिजिटल इ–सिम कार्ड हुने कम्पनीले बताएको छ । अरू देशमा पठाइने मोडलमा भने के हुनेछ भन्नेबारे कम्पनीले आधिकारिक जानकारी दिइसकेको छैन ।

कम्पनीले यो वर्ष तीन मोडलका घडी एप्पल वाच सिरिज ८, एप्पल वाच अल्ट्रा र एप्पल वाच एसइ सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार सिरिज ८ को नयाँ एप्पल घडीमा अत्याधुनिक फिचरहरू छन् । सिरिज ८ को एप्पल घडीको डिजाइन सिरिज ७ कै जस्तो छ । हेर्दा उस्तै देखिए पनि यसको डिस्प्ले पहिलेभन्दा ठूलो र बिटमा घुमाउरो छ ।

यसको डिस्प्लेको सतह पनि फराकिलो छ जुन सधैं अन हुने गरी बनाइएको छ । यो घडी पौडी खेल्दा पनि लगाउन मिल्छ । त्यस्तै यो चर्किँदैन वा टुटफुट हुँदैन ।

नयाँ एप्पल वाचमा शरीरको तापक्रम नाप्ने सेन्सर छ जुन महिलाहरूको स्वास्थ्यलाई लक्षित गरिएको हो । यसले हरेक ५ सेकेन्डमा शरीरको तापक्रम मापन गर्छ र आवश्यकताअनुसार सूचना र संकेत दिन्छ । यही फिचरबाट महिलाहरूको महिनावारीको मिति पनि आकलन गर्छ ।

यसले मुटुको चालको पनि निगरानी राख्छ। यसबाहेक फिटनेस, आपतकालीन कल सेवाहरू र रगतमा अक्सिजनको मात्रा कति छ भन्नेसहितका विस्तृत स्वास्थ्य विवरण यसमा राख्न सकिन्छ ।

यसमा पनि दुर्घटना भएको सूचना दिने क्र्यास डिटेक्सन फिचर छ। क्र्यास डिटेक्सन फिचरले जुनसुकै गाडीमा पनि काम गर्छ। दुर्घटना भएको सूचनासँगै यसले आपतकालीन कल गर्ने संकेत दिन्छ ।

एकपटक पूरा चार्जमा यो घडी ३६ घन्टासम्म चल्न सक्छ। पहिलेका घडी १८ घन्टा मात्र चल्थे । जिपिएस भएको मोडलको मूल्य अमेरिकी डलर ३९९ छ भने सेलुलर मोडलको ४९९ डलर पर्नेछ ।

एप्पल वाचको अल्ट्रा संस्करणको भने बाहिरी स्वरूप अलि बेग्लै छ । यसलाई ’फंकी’ स्वरूपको भनिएको छ । यो विशषगरी हाइकिङ र खेलकुदका क्रममा लगाउन लक्षित गरिएको छ । खेलाडीहरू र पानीमा धेरैबेर रहेर खेलिने खेलहरूका लागि यो उपयुक्त छ ।

यसको कम्पास पनि पहिलेभन्दा सुधारिएको छ जसले अझ स्पस्ट दिशा संकेत गराउँछ । यसको डिस्प्ले चमक अरू एप्पल वाचको भन्दा धेरै छ । त्यस्तै कम्पनीले यसका लागि चाँडै सफ्टवेयर ल्याउने छ जसबाट यसको ब्याट्री ६० घन्टासम्म धानिने हुनेछ ।

यो मोडलको घडीको मूल्य ७९९ डलरबाट सुरू हुन्छ । एप्पल वाच एसइ भने सस्तो छ जसको मूल्य २४९ डलरबाट सुरू हुन्छ । यो सिरिज–८ कै सस्तो संस्करण हो ।


यस्तै, कम्पनीका अनुसार नयाँ एयरपड्समा पहिलेभन्दा स्पष्ट आवाज सुनिनेछ । त्यस्तै एयरपड्स एप्पल वाच चार्जरले नै चार्ज गर्न सकिनेछ । यसको मोडल पनि पहिलेको भन्दा केही फरक छ । यसमा भोल्युमका लागि नयाँ टच कन्ट्रोल छ। त्यस्तै ६ घन्टासम्म ब्याट्री टिक्छ । नयाँ एप्पल एयरपड्स प्रो २ को मूल्य २४९ डलर तोकिएको छ ।

प्रतिक्रिया