काठमाडौं, २३ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
एक १७ वर्षीया बालिकाले सन्दीपविरुद्ध बलात्कारको उजुरी दर्ता गराएपछि अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको थियो ।
अदालतले सन्दीपलाई पक्राउ गर्न अनुमति दिएसँगै प्रहरीले सन्दीपलाई जहाँ र जस्तोसुकै अवस्थामा पनि पक्राउ गर्न सक्छ । प्रहरी स्रोतका अनुसार सन्दीप स्वदेश फर्कने क्रममा विमानस्थलबाटै पक्राउ गर्ने तयारी रहेको छ ।
बलात्कारको आरोपमा जाहेरी दर्ता भएसँगै प्रहरीले लामिछानेविरुद्धका प्रमाण सङ्कलन सुरु गरेको छ । उनी बसेको भनिएका नगरकोट र काठमाण्डौका होटलको सीसीटीभी फुटेज सङ्कलन गरिएको प्रहरीले जनाएको छ ।
हाल क्यारेबियन प्रिमियर लिग खेल्ने वेष्ट इन्डिज (जमैका)मा रहेका सन्दीप सीपीएल खेलेर मात्र फर्कने जनाएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार उनले आफ्नो संलग्नता अस्वीकार गर्दै कानुनी सहायताका लागि अनुरोध गरेका छन् ।