महानगरको निर्देशन- तीन महिनाभित्र नक्सा पास गर्नुस्, अवैध संरचना हटाउनुस्
अखबार टुडे
प्रकाशित:
२०७९, २३ भाद्र

काठमाडौं, २३ भदौं । काठमाडौं महानगरपालिकाले मापदण्डअनुसार निर्माण भएर पनि नक्सा पास नगरिएका भवनहरुलाई ३ महिनाभित्र नक्सा पास गर्न निर्देशन दिएको छ ।

महानगरले बिहीबार सूचना जारी गर्दै त्यस्ता भवनहरुको ९० दिनभित्र नक्सा पास गर्न निर्देशन दिएको हो । महानगर क्षेत्रभित्र निर्माण भएका सरकारी, निजी वा जुनसुकै प्रकृतिको भवन भएपनि नक्सा पास नगरी बनाइएको र मापदण्ड अनुकूल भएका त्यस्ता भवनहरूले सूचना प्रकाशित भएको मितिले ९० दिनभित्र नक्सा पेस गरी नक्सा स्वीकृत गर्न आग्रह गरिएको छ ।

यदि तोकिएको समयभित्र नक्सा पेस नगरेमा त्यस्ता भवनहरूको विवरण संकलन गरी स्थानीय सरकार ऐन २०७४ र प्रचलित भवन निर्माण मापदण्ड, संहिता, कार्यविधि र कार्यालयको निर्णय बमोजिम कारबाही गरिनेसमेत महानगर, शहरी व्यवस्थापन विभागले जनाएको छ ।

यस्तै, महानगरपालिकाले सीमा पर्खाल नियमित गर्न तथा अनधिकृत सीमा पर्खाल हटाउन सूचना जारी गरेको छ । सूचनाअनुसार महानगर क्षेत्रभित्र घर जग्गा घेर्न निर्माण गरिएको पर्खाल प्रचलित भवन निर्माणसम्बन्धी मापदण्ड अनुसार हुनुपर्ने छ ।

महानगरभित्रमा कतिपय पर्खालहरु नक्सा पास नगरि निर्माण भएका पाइएकाले सूचना प्रकाशित भएको ३५ दिनभित्र हटाउन सूचित गरिएको छ । यदि नहटाएमा महानगरको टोलीले हटाउने र त्यसवापत लाग्ने खर्च घरधनीले नै बेहोर्नु पर्ने महानगरले चेतावनी दिएको छ ।

यसअघि पनि महानगरले ३५ दिने सूचना जारी गर्दै अवैधरुपमा बनाइएको संरचना हटाउन निर्देशन दिएको थियो । तर, सरोकारवालाले सूचनाको वेवास्ता गरेपछि केही दिनयता महानगरको टोलीले त्यस्ता संरचना धमाधम हटाइरहेको छ ।

प्रतिक्रिया