देशको दुर्गती हुनुमा नेता मात्रै जिम्मेवार हो कि ब्युरोक्रेसी पनि हो ?: देउवा
अखबार टुडे
प्रकाशित:
२०७९, २२ भाद्र

काठमाडैं, २२ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारीको सहयोगविना देश अघि बढ्न नसक्ने बताएका छन् ।

निजामती सेवा दिवसका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले देशको दुर्गति के कारणले भएको हो भन्ने कारण पहिल्याउन आवश्यक रहेको बताए ।

देउवाले भने, ‘ जबसम्म कर्मचारीको सहयोग हुँदैन तबसम्म देशको काम हुँदैन । जनताले भोट हाले भने हामी सरकारमा आउने हो । योे देशको दुर्गती हुनुमा जिम्मेवार को हो? नेता मात्रै हो कि कर्मचारीतन्त्र (ब्युरोक्रेसी) पनि हा ?, हामी त चुनाव जितेर ५ वर्षका लागि आउने हो कहिले हार्छ कहिले जित्छ । कर्मचारीहरू त पेन्सनसम्म बस्नुहुन्छ । तर पनि काम भएको छैन, दुर्गती छ देशको । यसबारे हामीले व्यापक रूपमा छलफल गर्नुपर्छ ।’

कर्मचारी मुलुक स्थायी सरकार भएको र देश बनाउने जिम्मा उनीहरुको हातमा रहेको उनले बताए । उनले कर्मचारीहरू दुर्गममा खटायो भने काम गर्न नजाने गरेको गुनासो गरे ।

उनले कर्मचारीलाई तलब खुवाउन पनि विदेशीसँग सहयोग माग्नुपर्ने अवस्था सिर्जना भएको बताउँदै जनताको सबैभन्दा अगाडि भएर काम गर्ने कर्मचारी भएकोले कर्मचारीले गुणस्तरीय सेवा दिनुपर्ने उनले बताए ।

ब्युरोक्रेसीको सहयोगबिना कुनै पनि देश अघि नसक्ने बताउँदै प्रधानमन्त्री देउवाले सबै ठाउँमा जिम्मेवार भएर काम गर्न निर्देशनसमेत दिए ।

प्रतिक्रिया