निर्वाचन प्रभावित गर्न कर्मचारी छानिछानी सरुवा गरियो: विशाल भट्टराई
अखबार टुडे
प्रकाशित:
२०७९, २२ भाद्र

काठमाडौं, २२ भदौ । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले निर्वाचन प्रभावित गर्नका लागि सरकारले कर्मचारी सरुवा गरिरहेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै भट्टराईले निर्वाचन घोषणा भइसकेपछि त्यसरी गरिएका कर्मचरी सरुवा रोक्न माग गरे ।

उनले भने, ‘कर्मचारी सरुवा निरन्तर भइरहेको छ । आसन्न निर्वाचनलाई प्रभावित गर्ने गरी आस्थाका आधारमा आफ्ना मान्छेहरूलाई छानिछानी जिल्लाजिल्लामा प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारी पठाउने काम भएको छ । स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत त्यसैगरी खटाउने काम गरिएको छ । निर्वाचन प्रभावित गर्नेगरी आफ्ना मान्छे छानिछानी पठाउने काम गरिएको छ ।’

यसअघि स्थानीय तह निर्वाचनमा पनि सरकारले आफ्ना मान्छे विभिन्न पदमा सरुवा गरेको र त्यसले चुनाव प्रभावित भएको भट्टराईको भनाइ थियो । सरकारी कर्मचारीले आस्थाका आधारमा विभेद गरेको पनि उनले भने ।

निर्वाचन आयोगको अनुमतिमा रिक्त पदहरूमा कर्मचारी खटाउनुपर्ने तर सरुवा गर्न नहुने एमालेको भनाइ छ । एमालेले सरकार र त्यसरी सरुवा भएर जाने कर्मचरीलाई चेतावनी दिएको छ ।

उनले भने, ‘जाने मान्छेहरूलाई पनि भन्न चाहन्छौं एमाले चुप लागेर बस्दैन । आस्थाका आधारमा अन्याय गर्न थालियो या मतलाई प्रभावित गर्न थालियो भने, स्वतन्त्र, निष्पक्ष निर्वाचनमा कुनै पनि खालको हस्तक्षेप गर्न थालियो भने हामी कुनै पनि हालतमा त्यसलाई प्रतिवाद गर्नेछौं भन्ने कुरा चेतावनीका साथ भन्न चाहन्छु ।’

मंसिर ४ गतेका लागि प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनअघि कर्मचारी सरुवा गर्न नहुने एमालेको भनाइ छ ।

प्रतिक्रिया