लिज ट्रस बनिन् बेलायतको तेस्रो महिला प्रधानमन्त्री, बोरिस जोनसन अब के गर्लान् ?
अखबार टुडे
प्रकाशित:
२०७९, २२ भाद्र

काठमाडौं, २२ भदौ । बेलायतमा कन्जर्भेटिभ पार्टीकी नेत्री लिज ट्रस नयाँ प्रधानमन्त्रीमा नियुक्त भएकी छन् ।

उनी बेलायतको प्रधानमन्त्री बन्ने तेस्री महिला हुन् । यसअघि मार्गरेट थ्याचर यूकेको पहिलो महिला प्रधानमन्त्री बनेको तीन दशकपछि सन् २०१६ मा थेरेसा मे दोस्रो महिला प्रधानमन्त्री बनेकी थिइन् ।

कन्जर्भेटिभ पार्टीमा ट्रससँगै पार्टी नेताको प्रतिस्पर्धामा रहेका भूतपूर्व अर्थमन्त्री ऋषि सुनक नयाँ प्रधानमन्त्रीको दौडबाट बाहिरिएका छन् । ट्रसले ५७ प्रतिशत मत पाइन् भने सुनकले ४३ प्रतिशत मात्र मत पाए ।

समाचार संस्था एपीका अनुसार पार्टीका एक लाख ८० हजार सदस्यहरुको बीचमा उनलाई अघि सारिएको थियो । उनले ८१ हजार भोट पाउँदै गर्दा ऋषि ६० हजार भोट पाएका थिए ।

महारानी एलिजाबेथले उनलाई स्कटल्यान्डस्थित बाल्मोरल कासलमा औपचारिक रूपमा पदबहाली गराएकी छन् । सोमवार सत्तारूढ कन्जर्भेटिभ पार्टीले ट्रसलाई बोरिस जोनसनको उत्तराधिकारीका रूपमा चयन गरेको घोषणा गरेको थियो ।

नयाँ प्रधानमन्त्रीले देशको कमजोर अर्थतन्त्रको चुनौती सामना गर्नुपर्नेछ । चालीस वर्षमा त्यहाँको मुद्रास्फीति सबैभन्दा उच्च छ ।

मंगलबार आफ्नो बिदाइ भाषणमा जोनसनले ट्रसलाई सहयोग गर्न कन्जर्भेटिभ पार्टीका सबैलाई आग्रह गरेका थिए । त्यसपछि उनले बाल्मोरल गएर महारानीसमक्ष राजीनामा दिएका थिए ।

सानो छँदा मार्गरेट थ्याचरको खुबै विरोध गर्थिन् लिज ट्रुस । उनीविरुद्धका प्रदर्शनमा नारा लगाउन दौडन्थिन् । वामपन्थ नै त नभनौं तर उदारवादी विचारहरुप्रति रुझान् थियो उनमा । उमेर पाक्दै जाँदा उनी थ्याचरकी पक्का समर्थक भएर निक्लिन् । उनले नागरिकहरुमाथि लगाइएको करमाथि ठुलो कटौती हुने आश्वासनको भरमा लोकप्रियता पाएकी थिइन् ।

उनले तीन वर्षअघि एक भाषण क्रममा आफ्ना समाजवादी मातापितासँग बहस झगडा गर्दै आफु हुर्केको सुनाएकी थिइन् । ‘घरभरि वामपन्थीहरु थिए,’ स्कटल्यान्डबाट उत्तरी बेलायतमा सरेको परिवारबारे उनले भनेकी थिइन्, ‘बाबुआमा र उनीहरुसँग वैचारिक विवाद गर्दै म हुर्केकी ।’

लिजले अक्सफोर्डबाट अर्थशास्त्र दर्शनजस्ता विषयमा अध्ययन गरेकी थिइन् । विश्वविद्यालय पढ्दा बेला उनी लिबरल डेमोक्रयाटिक पार्टीको विद्यार्थी संगठनकी अध्यक्ष बनेकी थिइन् । उनी गाँजा फुकुवा गरिनुपर्ने अभियानमा समेत जोडिएकी थिइन् । त्यसबेला उनी राजतन्त्र बेलायतबाट उखेलिनुपर्ने जस्ता कडा मतहरु पनि पेश गर्थिन् ।

सुरुमा जति कट्टरपन्थी सोच राखे पनि अक्सफोर्ड छाडेसँगै उनले पार्टी पनि छाडिन् । उनी कन्जर्भेटिभ पार्टीतिर लागिन्, जसले उनलाई कालान्तरमा प्रधानमन्त्री बन्ने बाटो खुलायो ।

प्रधानमन्त्रीबाट हटेपछि बोरिस जोनसनले अब के गर्लान् ?
प्रधानमन्त्री पद तथा पार्टी नेतृत्वबाट हटेपछि बोरिस जोनसन अब नयाँ पेसाबारे योजना बनाउँदै छन् । उनका जीवनी लेखक एन्ड्रयू गिम्सनका अनुसार उनी घर फर्किएर स्थानीय गिर्जाघरको लागि राम्रो काम गर्ने वा गुमनाम जीवन बिताउने स्वभावका व्यक्ति होइनन् ।

जोनसनले राजनीतिमा प्रवेश गर्नुअघि उनी धेरै पारिश्रमिक लिनेगरी पत्रकारितामा थिए । उनले वेस्टमिन्स्टरको उच्च पदमा रहँदा समेत पत्रिका र म्यागजीनहरूको लागि लेखिरहे । उनले प्रधानमन्त्री बन्नुभन्दा केही दिनअघि मात्रै नियमित लेख्न छोडेका थिए ।

डेली टेलिग्राफको लागि साप्ताहिक स्तम्भ लेख्नको लागि उनलाई प्रतिवर्ष २,७५,००० पाउन्ड दिइएको थियो र यी पूर्वप्रधानमन्त्रीको सेवा आफ्नो पक्षमा सुरक्षित गर्नका निम्ति सञ्चारमाध्यमहरूबीच एक किसिमको प्रतिस्पर्धा नै चल्न सक्छ ।

उनी आफ्नै संस्मरणहरू लेख्ने प्रस्तावबाट पनि लोभिन सक्छन् जुन भूतपूर्व प्रधानमन्त्रीहरूको निश्चित कमाइको उपाय हो । साहित्यिक एजेन्टहरूले उनी सत्तामा रहँदाको समयको बारेमा लेखिने किताबाका निम्ति १० लाख पाउन्डभन्दा बढी पाउन सक्ने आकलन गरेका छन् ।

जोनसनले यसअघि नै पत्रिकामा प्रकाशित लेखहरूको सङ्ग्रहसहित आठवटा पुस्तक लेखिसकेका छन् । तीमध्ये उनका आदर्श विन्स्टन चर्चिलको जीवनी र राजनीतिक व्यङ्ग्य सेभेन्टी–टू भर्जिन्स सर्वाधिक विक्री भएका पुस्तक हुन् ।

यद्यपि टेन डाउनिङ् स्ट्रिटबाट निस्किएपछिको उनको प्रमुख काम विलियम शेक्सपियरको जीवनी सम्पन्न गर्नु हो। उनले विगत सात वर्ष अघिदेखि उक्त पुस्तक लेख्दै आएका छन्। प्रकाशक होडर एन्ड स्टोटनले सन् २०१५ मा “शेक्सपियरः द रिडल अफ जीनिअस“को अधिकार पाँच लाख पाउन्डमा खरिद गरिसकेको भनिएको छ ।

उक्त पुस्तक सन् २०१६ मा सार्वजनिक हुने भनिएको थियो। तर ब्रेक्जिट भोट, विदेशमन्त्रीको पद अनि त्यसपछि प्रधानमन्त्री बनेका जोनसनको लेखन तालिका प्रभावित भयो ।

धेरै वर्षदेखि बोरिस जोनसनका भाषणहरू कन्जर्भेटिभ पार्टी सम्मेलनहरूमा मुख्य आकर्षणको रूपमा रहँदै आएका छन् । पूर्वप्रधानमन्त्रीहरूले सार्वजनिक भाषणबाट पनि राम्रो कमाइ गर्न सक्छन् । जोनसनकी पूर्ववर्ती टरिजा मेले सन् २०२२ मा मात्रै नौवटा भाषण दिएर ७,१५,००० पाउन्ड कमाएकी छन् ।

जोनसनको हास्यव्यङ्ग्य चेतका कारण उनी शक्तिमा आउनुअघि पनि उनलाई रात्रिभोजहरूमा निम्त्याइन्थ्यो। तर अब उनी राम्रो आम्दानी हुने सिर्जनशील कर्मतर्फ मोडिन सक्छन्।

सन् २०१९ को मार्च महिनामा सरकारी जिम्मेवारीहरू फेरिँदा उनलाई एउटा ब्याङ्क र एक भारतीय सञ्चार समूहलाई गरी दुईवटा मन्तव्य दिनका लागि १,६०,००० पाउन्डभन्दा बढी रकम दिइएको थियो ।

जोनसन सांसदको रूपमा रहन्छन् वा रहँदैनन् भन्ने बारेमा धेरै अनुमान गरिएको छ । उनलाई नयाँ प्रधानमन्त्रीबाट मन्त्रिपरिषद्मा स्थानका निम्ति प्रस्ताव आउने सम्भावना कम देखिन्छ । त्यसैले उनी विगतमा पनि राजनीतिमा गतिरोध आएको बेलामा जस्तै संसद्मा पछाडिको स्थानमा बस्न जान पनि सक्छन् । जस्तोसुकै परिस्थितिमा पनि मन्त्रीहरूले पालना गर्नुपर्ने आचारसंहिताअनुसार उनले पदत्याग गरेपछि दुई वर्षसम्म सरकारमा प्रत्यक्ष लबिङ गर्न पाउनेछैनन् ।

उनले जे गरे पनि राज्यबाट प्राप्त हुने भत्ताले उनलाई सहयोग पु¥याउनेछ । जोन मेजरले लागु गरेको त्यस्तो योजनाअन्तर्गत पूर्वप्रधानमन्त्रीहरूलाई वार्षिक १,१५,००० ब्रिटिश पाउन्ड कार्यालय र सचिवालयअन्तर्गतका शीर्षकहरूमा खर्च गर्न दिइन्छ ।

– बीबीसीलगायत एजेन्सीको सहयोगमा

प्रतिक्रिया