काठमाडौं उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु
अखबार टुडे
प्रकाशित:
२०७९, २२ भाद्र

काठमाडौं, २२ भदौं । काठमाडौं उपत्यकामा आजबाट इन्द्रजात्रा सुरु भएको छ । बसन्तपुरस्थित हनुमानढोकामा बुधबार यःसी अर्थात लिङ्गो ठड्याएर इन्द्रजात्रा सुरु गरिएको हो ।

बुधबार बिहान ७ः१७ को साइतमा लिंगो ठड्याइएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन काठमाडौंको हनुमानढोका परिसरमा इन्द्रको पूजाआजा गरी इन्द्रध्वजा सहितको लिंगो ठड्याएसँगै जात्रा सुरू हुने गर्छ ।

लिंगो ठड्याउँदा नेपाली सेनाको ब्यान्ड, गुरुजु पल्टन र पञ्चेबाजा समूहले मंगलधुन बजाउँदछन् । हिन्दू र बौद्ध धर्मावलम्बी नेवार समुदायको यो साझा चाडका रूपमा लिइन्छ ।

भक्तपुरको चित्तपोलबाट ल्याइएको लिंगो हुनमानढोकामा ठड्याएपछि इन्द्रजात्रा सुरु गर्ने चलन रहेको केन्द्रीय मानन्धर संघका अध्यक्ष गोपालकृष्ण मानन्धरले जानकारी दिए । शाह वंशीय राजा प्रतापसिंह शाहको पालादेखि लिंगो गाड्ने चलन रहेको मान्यता छ ।

एक सातासम्म चल्ने इन्द्रजात्राको मुख्य दिन आगामी मंगलबार कुमारी घरबाट काठमाडौंको तल्लो टोलमा कुमारी, गणेश र भैरवको रथ यात्रा गर्ने गरिन्छ ।

सोही दिन राष्ट्रप्रमुखको रुपमा राष्ट्रपतिले जात्रा अवलोकन गर्ने परम्परा छ । यसै अवसरमा केन्द्रिय मानन्धर संघले पहिलो पटक ६४ जना कन्याको पूजा पनि गरेको छ ।

प्रतिक्रिया