क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको उजुरी
अखबार टुडे
प्रकाशित:
२०७९, २२ भाद्र

काठमाडौं, २२ भदौ । राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कारको उजुरी परेको छ । प्रहरी वृत्त गौशालामा लामिछानेविरुद्ध एक किशोरीले मंगलबार उजुरी दिएकी हुन् ।

लामिछाने ६ भदौमा टी–२० सिरिज खेल्न केन्या गएका थिए । त्यसको अघिल्लो दिन (५ भदौ) उनले पीडितलाई पिंगलास्थानस्थित होटल काठमाडौं इनमा बोलाएर बलात्कार गरेको पीडितको भनाइ छ ।

आफ्ना एक साथीसँग गौशाला पुगेकी पीडितले आफूलाई कप्तान लामिछानेले दुईपटक बलात्कार गरेको बताइएको छ । प्रहरीका अनुसार उनको उमेर १७ वर्षको छ । उनको हिजै स्वास्थ्य परीक्षण गराएर प्रारम्भिक अनुसन्धान थालिसकेको प्रहरीले जनाएको छ ।

गौशाला प्रहरीका अनुसार काठमाडौंको एक कलेजमा अध्ययनरत पीडित युवती लामिछानेकी ‘फ्यान’ थिइन् । उनीहरुबीच सामाजिक सञ्जाल स्न्यापच्याट र ह्वाट्स एपमार्फत कुराकानी हुने गरेको थियो । सामाजिक सञ्जालमार्फत नै लामिछानेले उनीसँग भेट्ने प्रस्ताव राखेका थिए ।

त्यसपछि सन्दीपले आफ्नो कारमा मध्य बानेश्वरस्थित होस्टल नजिकै लिन आएको बताइएको छ । त्यतिबेला भक्तपुर गएको र फर्किएर आउँदा मध्यराति भइसकेको उनले प्रहरीसमक्ष भनेकी छन् ।

झण्डै ११ बजिसकेपछि सन्दीपले होटलमा बस्ने प्रस्ताव गरेको उनको बयान छ । त्यसपछि सन्दीपले उनलाई पिंगलास्थानस्थित होटलमा लगेका थिए । पीडितले दुईवटा कोठा लिन भने पनि सन्दीपले नमानेको प्रहरीको भनाइ छ । राति लठ्याएर दुई पटक बलात्कार गरेको पीडितको जाहेरीमा उल्लेख छ ।

२५ वर्षका क्रिकेटर लामिछाने हाल वेष्ट इन्डिजमा छन् । नेपाल क्रिकेट संघ (क्यान) ले ४ पुस २०७८ मा लामिछानेलाई राष्ट्रिय क्रिकेट टिको कप्तान नियुक्त गरेको थियो ।

प्रतिक्रिया