माओवादीले ६० सिट वरिपरि पाउने विश्वास छ : प्रचण्ड
अखबार टुडे
प्रकाशित:
२०७९, २१ भाद्र

धनगढी, भदौ २१ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको सिट संख्या भोलि (बुधबार) टुंगो लाग्ने बताएका छन् ।

मंगलबार धनगढीमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले सिट बाँडफाँटको प्रस्ताव ल्याउने जिम्मा पाएको कार्यदललाई आज बेलुकीसम्मको समय दिइएको बताए ।

प्रचण्डले कांग्रेसले ८० सिटको वरिपरि लिएर अरू दलले पनि बाँकी सिटमा भागबण्डा गर्ने बताए ।
उनले भने, ‘सय सिट दाबी गरेको कांग्रेस ८० वरिपरि मान्लाजस्तो छ र हामीले पनि ६० सिट दाबी गरेका हौं, ६० बाट केही तलमाथि होला तर त्यसकै वरिपरि हुन्छ भन्ने विश्वास छ । एकीकृत समाजवादीले २५ र जनता समाजवादीले २५ मागिरहेका छन्। यी सबै विषयमा बुधबार शीर्ष नेताहरू बसेर टुंग्याउँछौं ।’

कार्यदलबाट सिट बाँडफाँटको प्रतिवेदन पाएपछि बुधबार शीर्ष नेताहरू बसेर नमिलेका क्षेत्रको टुंगो दुई दिन भित्रमा लगाउने सहमति पनि भएको उनले बताए ।
आफ्नो नाम विभिन्न क्षेत्रबाट सिफारिस भए पनि चितवन क्षेत्र नम्बर ३ बाटै उठ्ने उनले बताए ।

प्रचण्डले गठबन्धनमा संसद्को आयु लम्ब्याउन हुँदैन भनेर छलफल भएकाले कुनै हालतमा संसद्को आयु लम्बिन नहुने बताए ।

उनले भने, ‘संसद्को आयु एक दिन पनि लम्ब्याउनु हुँदैन । मनोनयनपछि संसद् रहँदैन । मंसिर ४ गते चुनाव हुन्छ । मंसिर चारपछि संसद् रहँदैन, दुविधा छैन ।’

पाँच वर्षको अवधिमा कुनै पनि सरकारले स्थिरता दिन नसकेको प्रचण्डले बताए । निर्वाचनपछि बन्ने नयाँ सरकारले मुलकुलाई नयाँ गतिमा अघि बढाउने उनले बताए ।

प्रतिक्रिया