मोरङका सबै क्षेत्रबाट एमाले उम्मेदवार सिफारिस, को को परे ?
अखबार टुडे
प्रकाशित:
२०७९, २० भाद्र

विराटनगर, २० भदौ । नेकपा एकालेले मंसिर ४ गते हुने निर्वाचनको लागि मोरङका ६ वटै क्षेत्रबाट आकांक्षी उम्मेदवारहरुको नाम सिफारिस गरेको छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले मोरङ–१ बाट स्थायी कमिटी सदस्य डा शिवमाया तुम्बाहाङफे र सांसद घनश्याम खतिवडासहित पाँच जनाको नाम प्रतिनिधि सभाको प्रत्यक्षतर्फ सिफारिस गरेको छ ।

खतिवडाले २०७४ को चुनावमा कांग्रेसका उम्मेदवार डिकबहादुर लिम्बुलाई पराजित गरेका थिए । यस्तै, सोही क्षेत्रबाट अग्नि भट्टराई, राजेन्द्र पौडेल र रुद्र तामाङ प्रतिनिधि सभा खुल्लातर्फ उम्मेदवारका लागि सिफारिस भएका छन्।

मोरङ–२ बाट एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलको नाम सर्वसम्मत रुपमा सिफारिस भएको छ । पोखरेल २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट नेपाली कांग्रेसका डा मीनेन्द्र रिजालसँग पराजित भएका थिए ।

मोरङ–३ मा भानुभक्त ढकालको एकल नाम सर्वसम्मत रुपमा सिफारिस भएको छ । ढकालले २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका वर्तमान महासमिति सदस्य एवं नोवेल मेडिकल कलेजका सञ्चालक डा सुनिल शर्मालाई पराजित गरेका थिए ।

मोरङ–४ बाट एमाले केन्द्रीय कमिटी सदस्य एवं मोरङ इञ्चार्ज विनोद ढकालको नाम सर्वसम्मत सिफारिस भएको छ । २०७४ को निर्वाचनमा सो क्षेत्रबाट वाम गठबन्धनकाका उम्मेदवार माओवादी केन्द्रका अमनलाल मोदीले नेपाली कांग्रेसका महेश आचार्यलाई पराजित गरेका थिए ।

यसैगरी, मोरङ–५ बाट योगेन्द्र मण्डल, मनोज अग्रवाल र राधा पासवानको नाम सिफारिस भएको छ । मण्डल पार्टी राजनीतिमा नयाँ अनुहार हुन । उनी जीवन विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष हुन्।

मोरङ–६ बाट स्थायी कमिटी सदस्य एवं सोही क्षेत्रबाट निर्वाचित सांसद लालबाबु पण्डित र प्याब्सनका पूर्वकेन्द्रीय अध्यक्ष टीकाराम पुरीको नाम सिफारिस भएको छ । २०७४ को निर्वाचनमा पण्डितले नेपाली कांग्रेसका नेता डा शेखर कोइरालालाई पराजित गरेका थिए ।

प्रतिक्रिया