कप्तान छाडेपछि एक क्रिकेटरको मात्र मेसेज आयो : विराट कोहली
अखबार टुडे
प्रकाशित:
२०७९, २० भाद्र

काठमाडौं, २० भदौ । एसिया कपमा विराट कोहली पुरानो लयमा फर्किएको देखिएका छन् ।
करिब एक महिना क्रिकेट मैदानबाट टाढा रहँदा उनी दक्षिण अफ्रिकाविरुद्धको टी–२० सिरिज, वेस्ट इन्डिज र जिम्बाब्वेको भ्रमणमा देखा परेका थिएनन् ।

उनले एसिया कपमा पाकिस्तानविरुद्धको पहिलो खेलमा उनले ३५ रन बनाएका थिए । त्यसपछि उनले हङकङविरुद्ध अर्धशतक प्रहार गर्दै ५९ रन बनाए । तेस्रो खेलमा पाकिस्तानविरुद्ध ४४ बलमा ६० रन बनाए कोहलीले चार चौका र एक छक्का प्रहार गरेका थिए । तर भारत पराजय हुन् पुग्यो ।

कोहलीलाई जसरी विकेटमा दौडिरहेको देखियो, त्यसबाट लाग्थ्यो उनी अन्तर्राष्ट्रिय शतकको खोजीमा विगत तीन वर्षदेखि आउट अफ फार्ममा परेका क्रिकेटर होइनन् । तर, क्र्याम्पिङका कारण उनी फिल्डिङका क्रममा मैदानमा देखिएनन् ।

भारतको पराजयपछि कोहली पत्रकार सम्मेलनमा आए । तर यो कोहली अर्कै हो भन्ने कुरा फेरि स्पष्ट भयो । वास्तवमा आफ्नो आक्रामकताका कारण धेरै पटक आलोचनाको सामना गर्नुपरेका कोहलीले पत्रकार सम्मेलनमा निकै सहज ढंगले प्रश्नको जवाफ दिए ।

उनले भने, ‘म १४ वर्षदेखि लगातार क्रिकेट खेलिरहेको छु, यो मौकाको कुरा होइन । टिमको ड्रेसिङ रुममा जे हुन्छ त्यो मेरो लागि महत्वपूर्ण हुन्छ । मैले आफ्नो तर्फबाट १२० प्रतिशत दिने प्रयास गरेको छु ।’

तर हाँस्दै प्रस्तुत भएका कोहलीले केही समयदेखि भोग्दै आएको पीडा लुकाउन सकेनन् । उनले भने, ‘धेरै मानिसहरू टिभीमा बोल्छन् । तर म तपाईहरूलाई यो भन्न चाहन्छु कि जब मैले टेस्ट कप्तानबाट राजीनामा दिएँ, मलाई केवल एक व्यक्तिको सन्देश आयो, जससँग मैले पहिले खेलेको छु । ती व्यक्ति एमएस धोनी हुन्। अरुसँग पनि मेरो फोन नम्बर छ । उनीहरु टिभीमा धेरै सुझाब दिन्छन् । तर जोसँग मेरो नम्बर छ, उनको म्यासेज आएन ।’

कोहलीले धोनीसँगको आफ्नो विशेष सम्बन्ध पनि उल्लेख गरेका छन् । उनले भने, ‘एउटा इज्जतको सम्बन्ध हुन्छ । न त उनीहरू हामीसँग केही चाहन्छन्, न म उनीहरूबाट केही चाहन्छन् ।’ –बीबीसीबाट

प्रतिक्रिया