अब दुई दिनभित्र सिट बाँडफाँटको टुंगो लाग्ला ?, नेताहरु यसो भन्छन्…
अखबार टुडे
प्रकाशित:
२०७९, १९ भाद्र

काठमाडौं, १९ भदौं । सत्तारुढ गठबन्धन दलका नेताहरुको भनाइलाई विश्वास गर्ने हो भने अबको दुई दिनभित्र सिट बाँडफाँटको अन्तिम टुंगो लाग्ने छ ।

केही साता यता सत्तारुढ दलका नेताहरु लगातार आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि सिट बाँटफाँटबारे छलफल चल्दै आएको छ । तैपनि सिट बाँडफाँटमा सहमति हुन नसक्दा नेताहरुलाई सकस भइरहेको छ ।

सोही क्रममा आइतबार पनि गठबन्धनका दलका शीर्ष नेताहरुसहित कार्यदलको सदस्यहरुको बैठक बस्यो । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा सिट बाँडफाँडबारे छलफल भएपनि निष्कर्षविहीन बन्यो । सूचना तथा सञ्चारमन्त्री एवं कांगे्रस नेता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार आइतबारको बैठक निष्कर्षविहीन बन्यो ।

उनले सोमबार र मंगलबार बस्ने कार्यदलको बैठकले सिट बाँडफाँटबारे टुंगो लगाउने बताए । ‘बैठक जारी छ । भोलि १ बजे फेरि हाम्रो कार्यदलको बैठक छ’ उनले भने, ‘कार्यदलले लगातार बैठक बसेर सहमतिपूर्ण निर्णयमा पुग्छ र त्यो निर्णय शीर्ष नेतालाई पेस गर्छौं ।’

सिट बाँडफाँटकै सेरोफेरोमा रहेर छलफल भइरहेको पनि कार्कीको भनाइ छ । सिट बाँडफाँट न्यायोचित, सम्मानजनक र सबैले जितेको महसुस हुनेगरी निर्णयमा पुग्ने उनको भनाइ छ । सत्ता गठबन्धनमा प्रतिनिधिसभा र प्रदेशसभामा पनि जित्नेगरी संख्या भागबण्डा गर्ने गृहकार्य भइरहेको नेताहरूको भनाइ छ ।

यसअघि प्रतिनिधिसभामा दलहरूले दाबी गरेको संख्याबाट केही सिट तलमाथि गरेर सहमतिमा पुग्न नेताहरूबीच सहमतिनजिक पुगेका छन् ।

आइतबार बिहानमात्रै प्रधानमन्त्री शेरबहादुर देउवालगायतका नेतासँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिट बाँडफाँटबारे छलफल गरेका थिए । सो छलफलमा नेताहरुबीच हारजितको माइक्रो एनालाइसिस गरेर सोहीअनुसार भागबण्डा गर्नु उपयुक्त हुनेमा निर्णयमा पुगेका थिए ।

कार्यदलले सहमति जुटाउन नसकेमा गठबन्धनका शीर्ष नेता तहबाटै सिट बाँडफाँटमा सहमति जुटाउने प्रयासलाई पनि गठबन्धनका नेताहरु जुटेका छन् ।

प्रतिक्रिया