
काठमाडौं, भदौ १९ (एजेन्सी) । चन्द्रमामा मानवरहित यान प्रक्षेपण गर्ने अमेरिकी अन्तरिक्ष निकाय ‘नासा’को दोस्रो पटकको प्रयास पनि असफल भएको छ ।
केनिडी स्पेस सेन्टरबाट प्रक्षेपण गरिरहेको बेला रकेटमा इन्धन चुहावटको समस्या देखिएपछि प्रक्षेपण स्थगित गरिएको नासाले जनाएको हो ।
आर्टमिस–१ मिसन अन्तर्गत नासाले स्पेस लन्च सिस्टम(एसएलएस) रकेटमार्फत अन्तरिक्ष यान चन्द्रमामा पठाउने तयारी थियो ।
नासाले यसअघि अगस्ट २९ तारिखमा पनि प्रक्षेपण गर्ने तयारी गरेको थियो तर इन्जिनमा केही समस्या देखिएपछि स्थगित भएको थियो । अब आउँदो अक्टोबरअघि रकेट प्रक्षेपण हुने सम्भावना नरहेको नासालाई उद्धृत गरी बीबीसीले जनाएको छ ।
नासाले बनाएको एसएलएस रकेट संसारकै सबैभन्दा अग्लो रकेट रहेको बताइएको छ । यो रकेटको उचाइ ३ सय २१ फिट रहेको छ ।
आर्टिमिस १ मिसनको पहिलो उद्देश्ये भनेकै एसएलएस रकेटको प्रक्षेपण हो । यही रकेटमा रहेको ओरियन–मल्टिप्रपोज क्रु भेकल(एमपीसीभी)क्याप्सलले नै अन्तरिक्षयात्रीहरुलाई चन्द्रमामा पु¥याउने नासाले जनाएको छ ।
नासाको आर्टिमिस मिसन अन्तर्गत चन्द्रमामा पहिलो पटक महिलालाई अवतरण गराउने लक्ष्य छ । आर्टिमिस २ को लन्च सन् २०२४मा हुने नासाले जनाएको छ । उक्त मिसनमा मानव समेत हुनेछन् ।
