समाजवादीसँग पार्टी एकताको प्रयास हुँदैछ: प्रचण्ड
अखबार टुडे
प्रकाशित:
२०७९, १७ भाद्र

सुर्खेत, १७ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीसँग पार्टी एकताको प्रयास भइरहेको बताएका छन् ।

आज सुर्खेतमा आयोजित पत्रकार भेटघाटमा प्रचण्डले भने, ‘हामी अब समाजवादीसँग एक खालको एकताको तयारी पनि गर्दैछौं । केही समयपछि पार्टी एकता संयोजन समिति बन्ने सम्भावना रहेको छ ।’

उनले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा एउटै घोषणापत्र बनाएर भाग लिने प्रयास भइरहेको जानकारी दिए । उनले भने, ‘त्यहाँ घोषणापत्र एउटै हुने तिर पनि हाम्रो प्रयास भइराख्या छ । तर चुनाव चिह्न भने आ–आफ्नै हुनेछ ।’

प्रचण्डले गठबन्धनमा संघ र प्रदेशको निर्वाचन क्षेत्र तोकेरै सिट बाँडफाँट हुने पनि बताएका छन् । प्रचण्डले चितनवन–३ बाहेक अन्य क्षेत्रबाट चुनाव लड्ने कुरा नसोचेको बताए ।

उसो भने एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’सँग प्रतिस्पर्धा हुने भयो हैन त ? भन्ने पत्रकारको जिज्ञासामा उनले बादलसँग आफ्नो तुलनै हुन नसक्ने बताए । उनले भने, ‘ ह्या…! तुलना नै नहुने कुरा पत्रकार साथीहरुले नसोध्नुहोस् न ।’

साथै प्रचण्डले एमालेसँग तालमेल हुन असम्भव रहेको प्रष्ट पारे । उनले भने,‘ओलीले गरेका प्रतिगमनकारी कुराहरुको छिनोफानो नभएसम्म एमालेसँग तालमेलको कुरा असम्भव छ ।’

प्रतिक्रिया