गर्भवतीको मृत्युपछि पोर्चुगलका स्वास्थ्यमन्त्रीले दिइन् राजीनामा
अखबार टुडे
प्रकाशित:
२०७९, १६ भाद्र

काठमाडौं, १६ भदौ (एजेन्सी) । गर्भवतीको मृत्यु भएपछि पोर्चुगलका स्वास्थ्य मन्त्री मार्टा टेमिडोले राजीनामा दिएकी छन् ।

प्रसूति वार्डमा ठाउँ अभावका कारण गर्भवती भारतीय पर्यटकको मृत्यु भएपछि उनले आफ्नो पदबाट राजीनामा दिएकी हुन् ।

एउटा अस्पतालबाट अर्को अस्पताल लैजादैँ गर्दा कार्डियक अरेस्टका कारण ३४ वर्षीया महिलाको मृत्यु भएको बताइएको छ । तर, स्वास्थ्यमन्त्रीको राजीनामाको कारण यो मात्रै होइन ।

विगत केही महिनादेखि, आलोचकहरूले पोर्चुगललाई सुत्केरी गराउने अस्पतालहरूमा कामदारहरूको गम्भीर अभाव भएको आरोप लगाउँदै आएका छन् ।

डाक्टर मार्टा टेमिडो सन् २०१८ देखि स्वास्थ्य मन्त्री थिइन् र पोर्चुगललाई कोरोना महामारीबाट निको हुन मद्दत गर्ने श्रेय पनि उनैलाई दिइन्छ ।

तर पोर्चुगलको समाचार एजेन्सी लुसाका अनुसार प्रधानमन्त्री एन्टोनियो कोस्टाले महिलाको मृत्यु नै डा. टेमिडोको राजीनामाको ‘अन्तिम कारण’ साबित भएको बताए । प्रधानमन्त्री कोस्टाले स्वास्थ्यमन्त्रीको राजीनामा स्वीकृत गरेको बताएका छन् ।

पोर्चुगलको सबैभन्दा ठूलो सान्ता मारिया अस्पतालको नियोनाटोलोजी इकाईमा स्थान नदिइएपछि महिलालाई लिस्बनको अर्को अस्पतालमा लगिएको थियो । यसै क्रममा उनको मृत्यु भएको बतइएको छ ।

समाचार एजेन्सीका अनुसार गर्भवती महिलाको आकस्मिक शल्यक्रिया गरिएको र नवजात शिशुलाई आइसीयूमा भर्ना गरिएको पोर्चुगलको राजधानी लिस्बनस्थित सो फ्रान्सिस्को जेभियर अस्पतालले जनाएको छ ।

सुत्केरीको शल्यक्रिया र उनीहरुको बच्चालाई बचाइएको छ । बच्चा भने स्वस्थ छन् । महिलाको मृत्युबारे अनुसन्धान सुरू गरिएको छ ।

प्रतिक्रिया