काठमाडौं महानगरले ल्यायो इन्डोनेसियाबाट ७ करोडको दमकल
अखबार टुडे
प्रकाशित:
२०७९, १६ भाद्र

काठमाडौं, १६ भदौ । काठमाडौं महानगरपालिकाले इन्डोनेसियाबाट दमकल ल्याएको छ । महानगरले ७ करोड २१ लाख रुपैयाँ खर्चेर नयाँ दमकल ल्याएको हो ।

२७० एचपी इन्जिन क्षमता भएको यो दमकलमा प्रतिमिनेट ३ हजार लिटर पानी तान्न र फाल्न सक्ने क्षमता छ । यस्तै ६० मिटर टाढासम्म पानीको फोहोरा हान्न सक्ने महानगरको विपद् व्यवस्थापन विभागले जनाएको छ ।

एकैपटक ४ वटा डिस्चार्ज लाइनबाट प्रेसरका साथ पानी फाल्न र २ वटा सक्सन लाइनबाट पानी तान्न सक्ने नयाँ दमकलमा रहेको महानगरले जनाएको छ ।

३ हजार लिटर पानी र ५ सय लिटर फोमको टयाङक रहेको दमकलले पानीमा फोम आफैं मिसाउन सक्छ । पानी फाल्ने मोनिटर ३६० डिग्रीमा वरिपरि घुमेर र ८० डिग्री सिधा माथि पानी फाल्न सक्छ ।

विभागका अनुसार ८ हजार किलोग्रामभन्दा धेरै तौल भएका यी दमकलहरु एन्टिलक ब्रेक सिस्टक (एबीएस) हुन् । ३ वर्ष वारेन्टी भएका दमकलहरुमा एबीसी टाइपका फायर एक्स्टिंगगुइसर, ४ वटा ब्रिदिङ एपारटर्स, ५ मिटर लामा २ वटा अल्मुनियमका भ¥याङ, २ हजार वाट क्षमताको एउटा जेनेरेटर, २ वटा स्पट लाइट, नाइलनको डोरी, पाइप तथा नोजल लगायत सामाग्री तथा उपकरण रहेको छ ।

८ मिटर लम्बाइ र २.५ मिटर चौडाइ भएका दमकलले घरमा लागेको, पेट्रालियम पदार्थ लागेको र ग्यासमा लागेको आगो निभाउन सक्छन् ।

विपद् व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठका अनुसार नयाँ बाहेक महानगरसँग अहिले पूर्ण क्षमतामा काम गर्न सक्ने २ वटा र सहयोगका लागि प्रयोगमा ल्याउन सकिने ३ वटा गरी ५ वटा दमकल सञ्चालनमा रहेको जानकारी दिए ।

राष्ट्रिय सभा गृहमा महानगरको विपद् व्यवस्थापन विभागलाई मेयर बालेन्द्र शाहले नयाँ दमकलको साँचो हस्तान्तरण गरे । उनले आगलागीजन्य विपदलाई तत्काल सम्बोधन गर्न दमकल सेवालाई विस्तार गरिने बताए ।

प्रतिक्रिया