काठमाडौंका १० वटै क्षेत्रबाट एमालेका उम्मेदवार सिफारिस, को कहाँबाट ?
अखबार टुडे
प्रकाशित:
२०७९, १६ भाद्र

काठमाडौं, १६ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौंको १० वटै क्षेत्रमा उम्मेदवार सिफारिस गरेको छ ।

एमालेको निर्वाचन क्षेत्रस्तरीय समितिले बुधबार नाम सिफारिस भएको हो । क्षेत्रस्तरीय समितिले काठमाडौं– १ बाट विदुर मैनाली, रुपनारायण श्रेष्ठ, टीकाराम भट्टराई र क्षेत्र नम्बर २ बाट मणिराम फुयाँल, ३ मा कृष्ण राईको नाम सिफारिस गरेको छ ।

त्यस्तै, काठमाडौं–४ मा राजन भट्टराई र निर्मल कुँइकेल, ५ मा ईश्वर पोखरेल, ६ मा कल्पना रिजाल, योगेन्द्र संग्रौला, लेखनाथ फुँयाल, कल्पना रिजाल, प्रेमराज सिलवाल, माता प्रताप थापा, मीना थापा र हरिशरण तिमल्सिनाको नाम सिफारिस भएको छ ।

काठमाडौं–७ मा विपी ढकाल, इन्दिरा पन्त, श्याम घिमिरे, विद्यासुन्दर शाक्य र रघुजी पन्त र काठमाडौं–८ बाट राजेश शाक्यको नाम सिफारिस भएको छ । काठमाडौं–९ बाट कृष्णगोपाल श्रेष्ठ, अजयक्रान्ति शाक्य र विद्यासुन्दर शाक्यको नाम सिफारिस भएको छ ।

१० बाट विनोद श्रेष्ठ, रमेश महर्जन, सुरेन्द्र मानन्धर, शम्भुराम महर्जन र शरब महर्जनको नाम सिफारिस भएको छ । क्षेत्रीय कमिटीबाट सिफारिस नामलाई जिल्ला कमिटीले अनुमोदन गरी प्रदेश र केन्द्रमा सिफारिस गर्नुपर्नेछ ।

६ लाख ३७ हजार ७ सय ७५ मतदाता रहेको काठमाडौंमा स्थानीय तह निर्वाचनको मत परिणाम हेर्ने हो भने एमाले र कांग्रेसमा धेरै अन्तर देखिँदैन । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौंका विभिन्न पालिकामा वडाध्यक्षले प्राप्त गरेको मत जोड्दा कांग्रेसको १ लाख ५७ हजार ३४२, एमालेका पक्षमा १ लाख ५३ हजार ९१२ र राप्रपाको २६ हजार ९ सय १५ छ ।

स्थानीय तह निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मतका आधारमा काठमाडौंमा नेकपा एकीकृत समाजवादी (नेकपा एस) र माओवादी केन्द्र राप्रपाभन्दा कमजोर अवस्थामा देखिएका छन् । नेकपा एसको २१ हजार ६२४ र माओवादी केन्द्रको १६ हजार मत छ ।

प्रतिक्रिया