सोभियत संघका अन्तिम राष्ट्रपति मिखाइल गोर्बाचोभको निधन
अखबार टुडे
प्रकाशित:
२०७९, १५ भाद्र

काठमाडौं, १५ भदौ (एजेन्सी) । शीतयुद्धको शान्तिपूर्ण अन्त्य गर्ने पूर्व सोभियत संघका नेता मिखाइल गोर्बाचोभको ९१ वर्षको उमेरमा निधन भएको छ ।

उनको मंगलबार राति रूसको सेन्ट्रल क्लिनिकल हस्पिटलमा निधन भएको हो । तर, गोर्बाचोभको मृत्युको कारण भने खुल्न सकेको छैन ।

पछिल्ला वर्षमा उनको स्वास्थ्यस्थिति बिग्रँदै गएको थियो । यसै वर्षको जुनमा केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले गोर्बाचोभलाई मिर्गौला रोगका कारण अस्पताल भर्ना गरिएको दाबी गरेका थिए ।

सोभियत युनियनका अन्तिम राष्ट्रपति गोर्बाचोभले अमेरिकासँगको शीतयुद्ध अन्त्यका लागि महत्त्वपूर्ण भूमिका निभाएका थिए । सन् १९८५ देखि सन् १९९१ सम्म सोभियत संघको सत्तामा रहेका उनले सोभियत संघको पतन भने रोक्न सकेनन्, जसका कारण आधुनिक रूसको उदय भयो ।

गोर्बाचोभले आफ्नो समयमा दुई वटा सुधारहरू गरे जसले सोभियत संघको भविष्य परिवर्तन गर्‍यो। ती हुन् ‘ग्लासनोतस्’ अर्थात अभिव्यक्ति स्वतन्त्रता र ‘पेरेस्त्राइका’ अर्थात पुनर्गठन । उनको यी सुधारपछि मात्र सोभियत संघका जनताले सरकारको आलोचना गर्ने अधिकार प्राप्त गरेका हुन् ।

कम्युनिष्ट सरकार चलिरहेको त्यहाँ यसअघि सरकारको आलोचना कल्पनाभन्दा बाहिरको विषय हुन्थ्यो । यद्यपि कट्टरपन्थी कम्युनिष्टहरूले गोर्बाचोभलाई संशोधनवादी नेताको रूपमा चित्रित गर्छन् ।

पश्चिमी देशहरूमा गोर्बाचोभलाई सुधारको पिता मानिन्छ । जसले अमेरिका–बेलायत र सोभियत संघ लगायत पश्चिमी देशहरू बीचको तनावलाई साम्य पारेका थिए । टकरावबाट भन्दा पनि वार्ताको माध्यमबाट समस्या समाधानको बाटो रोजेकै कारण उनलाई सुधारवादी नेताका रूपमा समेत लिइन्छ ।

सन् १९९० मा गोर्बाचोभलाई पूर्व–पश्चिमको सम्बन्धमा ठूलो परिवर्तन ल्याउनको लागि उनले महत्वपूर्ण भूमिका निभाएको भन्दै नोबेल शान्ति पुरस्कारसमेत प्रदान गरिएको थियो । शान्ति प्रक्रिया, खुलापन, अन्तर्राष्ट्रिय विश्वासलाई सुदृढ बनाउन उनले महत्त्वपूर्ण भूमिका खेलेको नोबेल समितिको भनाइ थियो ।

गोर्बाचोभ ५४ वर्षको उमेरमा सोभियत कम्युनिष्ट पार्टीको महासचिव हुँदै देशको सर्वोच्च नेता बनेका थिए । त्यतिबेला उनी पार्टी पोलिटब्युरोका सबैभन्दा कान्छा सदस्य थिए ।

गोर्बाचोभको अन्त्येष्टि मस्कोमा हुनेछ । रूसी समाचार एजेन्सी टासका अनुसार उनलाई सन् १९९९ मा मृत्यु भएकी उनकी श्रीमती राइसाको चिहान नजिकै नोवोडेभिची कब्रिस्तान नजिकै गाडिनेछ ।

उनको निधनमा विश्व नेताले श्रद्धाञ्जली अर्पण गरेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले इतिहासको पाठ्यक्रम परिवर्तन गरेको टिप्पणी गरेका छन् ।

यस्तै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तिम सोभियत नेता गोर्बाचोभको निधनप्रति गहिरो सहानुभूति व्यक्त गरेका छन् ।

युरोपेली संघका प्रमुख उर्सुला भोन डर लेनले विश्वसनीय र सम्मानित नेता गुमाएको भन्दै गोर्बाचोभले स्वतन्त्र युरोपको बाटो खोलिदिएको सम्झना गरे । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले गोर्बाचोभको साहस र इमानदारी देखेर आफू स्तब्ध भएको बताएका छन् ।

यस्तै अमेरिकी राष्ट्रपति जो बाइडेनले गोर्बाचोभलाई उल्लेखनीय दृष्टि भएको व्यक्ति र एक दुर्लभ नेताको संज्ञा दिएका छन् । उनको निधनमा एक शोक वक्तव्य जारी गर्दै बाइडेनले भिन्न भविष्य सम्भव छ भनेर हेर्ने कल्पना र यसलाई प्राप्त गर्न आफ्नो सम्पूर्ण करियर जोखिममा पार्ने साहसी नेता रहेको बताए ।

प्रतिक्रिया