सुमिताको ‘नयना’ लोकार्पण : यो पल (भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०७९, १५ भाद्र

काठमाडौं, १५ भदौ । गायिका सुमिता राईको नयाँ एल्बम ‘नयना’ सार्वजनिक भएको छ । केही दिनअघि राजधानीमा आयोजित एक कार्यक्रमबिच बरिष्ठ कलाकार तथा क्यापटेन विजय लामा, चलचित्र बिकाश बोर्डका पूर्वअध्यक्ष राजकुमार राई, वरिष्ठ गायक उदय सोताङ, निर्देशक मिलन चाम्स, निर्माता ज्योतिराज राईलगायतले एल्बम ‘नयना’को संयुक्तरुपमा लोकार्पण गरेका थिए ।

एल्बम बिमोचनपछि ‘नयना’ एल्बममै समावेश ‘यो पल’ बोलको गीत पनि सार्वजनिक गरिएको थियो । यस गीतको शब्द तथा संगीत उदय सोताङको रहेको छ भने कृष्ण लिम्बुको एरेञ्ज रहेको छ । उक्त गीतको भिडियोलाई मिलनले निर्देशन गरेका हुन् । भिडियोमा गायिका स्वयंम र उनका श्रीमान खरुन राई तथा छोरी नयना राईले अभिनय गरेका छन् ।

कार्यक्रममा एल्बमका बारेमा बोल्दै निर्देशक मिलनले एल्बमको महत्वबारे प्रस्ट्याएका थिए । पछिल्लो समय एल्बम ल्याउन छाडिएपनि एल्बमको महत्व भने अझै रहेको उनको भनाइ छ ।

त्यस्तै वरिष्ठ कलाकार तथा पाइलट लामाले एल्बमका लागि सुमितालाई शुभकामना दिँदै बिगतका समयका म्युजिक भिडियोको अनुभव साटेका थिए ।

गायिका सुमिताले आफ्नो एल्बमको बारेमा बोल्दै आफ्नै छोरीको नामबाट एल्बम निकालेको बताइन् । एल्बममा समावेश सबै गीतहरु परिवारिक माया, प्रेमकै बारेमा रहेको उनको भनाइ छ ।

५ गीत समावेश एल्बममा ‘यो पल’, ‘फुल झैँ’, ‘फिका फिका’ र सुख खुशी बोलको गीतहरु रहेका छन् । सबै गीतहरुमा सुमिताको स्वर रहेको छ भने डोएट गीतमा चर्चित गायक प्रमोद खरेल, गायक रुक्मान लिम्बु र बाल गायिका मिन्छाम्मा राईले साथ दिएका छन् ।

एल्बममा उदय सोताङ, तारा प्रकाश लिम्बु, गंगाराज राई र खरुन राईको संगीत रहेको छ भने उदय, मुकेश राई, हेमकला किराती र कुमार इश्बोको शब्द रहेको छ । एल्बमको गीतहरुमा कृष्ण लिम्बु, साहस शाक्य, सबिन लिम्बु, राजु कार्की र फनिन्द्र राईको एरेञ्ज रहेको छ । तनि वर्षअद्धि सुमिताले ‘सगुन’ नामक पहिलो एल्बम ल्याएकी थिइन् ।

प्रतिक्रिया