सेवामा असिन-पसिन अनिला : जब उनले भनिन्- म व्यस्त छु है…!
अखबार टुडे
प्रकाशित:
२०७९, १४ भाद्र

काठमाडौं, १४ भदौं । गायिका अनिला राई सोमबार दिनभर अनामनगरस्थित सेवा रेकर्डिङमा व्यस्त भइन् । उनलाई त्यहाँ कुरा गर्ने फुर्सदसमेत थिएन । बिहान १० बजेबाट जुटेकी उनी साँझ ६ बजेसम्म असिन-पसिन थिइन् ।

अखबार टुडेको प्रतिनिधि त्यहाँ पुग्दा उनी असिनपसिन थिइन् । उनले यति मात्र बोलिन्, ‘म अहिले व्यस्त छु, बस्दै गर्नुस् है ।’
गायिका अनिला त्यो व्यस्तता रेकर्डिङको भने होइन, उनी आफ्नो एल्बमको केही गीतको भिडियो स्टुडियोमा सुट गर्दै थिइन् । जहाँ प्राविधिकहरु पनि अनिलालाई कसरी सुन्दर देखाउने भनेर मिहिनेत गरिरहेका थिए ।

सेवा स्टुडियोमा गायिका अनिला राई आफ्ना बुबा गंगा राईसँग

हो, हालैमात्र सातौँ सोलो एल्बम ‘एन्जेलिना’ सार्वजनिक गरेकी गायिका अनिला राईले सोमबार आफ्नो थप तीन वटा गीतको भिडियो निर्माण गरेकी छन् ।

साता दिनअघि मात्र अनिलाको ‘एन्जेलिना’सहित तीन गीतको भिडियो र एक गीति पुस्तक सार्वजनिक गरिएको हो ।
बेलायतबाट एल्बमकै लागि विदामा आएकी अनिलाले सोही एल्बमको थप तीन गीतको स्टुडियो भिडियो निर्माण गरेकी हुन् । एल्बममा संग्रहीत गीतमध्ये ‘पपी फूल’, ‘साकेला’ र अर्को ‘डाक्टर भन्छ रोग लाग्छ’ बोलको गीतलाई स्टुडियो भिडियो बनाएको उनले बतााइन् । उक्त भिडियो आदिम अनलाइनले निर्माण गरेको हो ।

‘पपी फूल’ बोलको गीतका लागि सुट गरिएको तस्बिर । जुन गीत ब्रिटिस गोर्खा आर्मीबारे लेखिएको छ ।

यसअघि एल्बमसँगै अनिलाको ‘धाराको पानी’, ‘आमा’ र ‘प्यारी छोरी’ बोल गीतको भिडियो सार्वजनिक भइसकेको छ ।
हालै सार्वजनिक एल्बम ‘एन्जेलिना’मा अनिलाको एकल शब्दरचना रहेछ भने दुई वटा गीतमा गायक रोशन राईले साथ दिएका छन् ।

अनिलाको हालै सार्वजनिक भएको एल्बम ‘एन्जेलिना’कमा ‘धाराको पानी’, ‘प्यारी छोरी’, पपी फूल’, ‘बेलायतको उत्तरी भेग’, ‘आमा’, ‘ढिडो र सिस्नु’, ‘पठाउँदै छ युद्ध भूमि’, ‘साकेला’ र ‘चिसो चिसो मौसम छ’ बोलका गीत रहेका छन् ।

करिब ६ वर्षपछि नेपाल आएकी अनिलाले यसपटक ११ वटा गीत गाउन भ्याएकी छन् । ६ साताको विदामा आएकी उनी यही आउने बिहीबार बेलायत फर्कदैछिन् ।

प्रतिक्रिया