मोरङबाट चुनाव लड्ने रेखा थापाको तयारी
अखबार टुडे
प्रकाशित:
२०७९, १४ भाद्र

काठमाडौं, १४ भदौ । अभिनेत्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेतृ रेखा थापा मोरङबाट प्रतिनिधिसभामा चुनाव लड्ने भएकी छन् ।

राप्रपाले उनको नाम मोरङ क्षेत्र नम्बर ३ बाट सिफारिस गरेको हो । यद्यपि उनी उम्मेदवार बन्ने निर्वाचन क्षेत्रको टुंगो लागिसकेको छैन ।

क्षेत्र नम्बर ६ मा उम्मेदवार बन्ने चर्चा भएपनि थापाको घर सुन्दरहरैंचा मोरङ क्षेत्र नम्बर ३ मा पर्छ । तर क्षेत्र नम्बर ३ मा नेकपा एमालेको संगठन बलियो छ ।

स्थानीय तह निर्वाचनमा क्षेत्र नम्बर ३ मा पर्ने चारवटा पालिकाको प्रमुख एमालेले जितेको छ । सो क्षेत्रबाट एमालेका भानुभक्त ढकाल उम्मेदवार बन्ने तयारीमा छन् ।

नेकपा एमालेसँग तालमेल भए मात्रै रेखा थापा उम्मेदवार बन्ने बुझाइ छ । एमालेबाट क्षेत्र नम्बर ६ मा पूर्व मन्त्री लालबाबु पण्डित दाबेदार छन् । पण्डित दाबेदार भएपनि क्षेत्र नम्बर ६ मा एमालेको संगठन कमजोर छ ।

मोरङ क्षेत्र नम्बर–६ मा सत्तारुढ गठबन्धनबाट कांग्रेस नेता डा. शेखर कोइराला उम्मेदवार बन्ने लगभग निश्चित छ ।

राप्रपा नेता थापा आफू चुनाव लड्न तयार रहेको बताउँछिन् । मोरङको क्षेत्र नम्बर ३ बाट आफ्नो नाम सिफारिस भएको बताउँदै उनले गठबन्धन भए अन्य क्षेत्रबाट पनि उम्मेदवार बन्न सक्ने बताइन् ।

थापाले भनिन्, ‘मोरङ मेरो घर हो । मोरङको जुन क्षेत्रबाट पनि उम्मेदवार बन्न तयार छु ।’ उनी मंगलबार बिहानैदेखि गृहजिल्लामा राप्रपाको चुनावी सभामा सक्रिय छिन् ।

प्रतिक्रिया