बगदादमा हिंसात्मक प्रदर्शनमा १५ जनाको मृत्यु, राष्ट्रपति भवन कब्जा
अखबार टुडे
प्रकाशित:
२०७९, १४ भाद्र

काठमाडौं, १४ भदौ । इराकी सुरक्षा बल र शक्तिशाली शिया धर्मगुरुका समर्थकहरूबीच बगदादमा झडप भएको छ । इराकका धर्मगुरु मुक्तदा अल–सद्रले राजनीतिबाट सन्यास लिने घोषणा गरेसँगै हिंसा भड्किएको हो ।

सो क्रममा अल–सद्रका १५ समर्थकलाई गोली हानेर मारिएको र करिब ३५० अन्य प्रदर्शनकारी घाइते भएको एएफपीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

शिया धर्मगुरु मुक्तदा अल–सद्रले हिंसा र हतियारको प्रयोग बन्द नभएसम्म अनशन बस्ने घोषणा गरेका छन् । प्रदर्शन रोक्न सेनाले लगाएको कर्फ्यू तोड्दै अल–सद्रका समर्थकहरू सडकमा उत्रिएका छन् ।

अल–सद्रका हजारौं समर्थकले राष्ट्रपति भवन (रिपब्लिक प्यालेस)मा हमला गरेका छन् । उनीहरूलाई सुरक्षाकर्मीले अश्रुग्यासले रोक्न सकेनन् । सुरक्षाकर्मीको कारबाही छल्दै सदरका समर्थकले राष्ट्रपति भवन कब्जा गरेका छन् । उनीहरू स्विमिङ पुल, बैठक हल लगायत पूरै दरबारमा घुमिरहेका तस्बिर सार्वजनिक भएका छन् ।

अक्टोबरको संसदीय चुनावमा धर्मगुरु मुक्तदा अल–सद्रको पार्टीले सबैभन्दा बढी सिट हासिल गरे पनि बहुमत जुटाउन सकेन । न उनले एक्लै सरकार बनाउन सके, न इरान समर्थित शिया प्रतिद्वन्द्वीहरूसँग सहमतिको सरकार गठन गर्न वार्ता गर्न स्वीकार गरे ।

गत जुलाईमा पनि सद्रका समर्थकहरूले इराकमा प्रदर्शन गरे र संसद कब्जा गरेका थिए ।

प्रतिक्रिया