अदालतको अवहेलना मुद्दामा मेयर बालेनलाई ७ दिनभित्र जवाफ दिन आदेश
अखबार टुडे
प्रकाशित:
२०७९, १३ भाद्र

काठमाडौं, १३ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई अदालतको अवहेलनासम्बन्धी मुद्दामा ७ दिनभित्र जवाफ दिन सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।

अधिवक्ता दीपकराज जोशीले शाहमाथि अदालतको अवहेलनाको आरोपमा कारवाही हुनुपर्ने माग राखी निवेदन दिएका थिए ।

अधिवक्ता जोशीको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको सोमबारको इजलासले ७ दिनभित्र जवाफ दिन भन्दै बालेन समेतका नाममा आदेश जारी गरेको हो ।

नर्भिक अस्पताल पक्षबाट दायर भएको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतले अस्पतालले निर्माण गरेका संरचना तत्काल नहटाउन अन्तरिम आदेश जारी गरेको थियो ।

उक्त आदेशपछि बालेनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेका थिए– ‘नक्सा पास नगरी बनाएको संरचनाहरुलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरु संविधान नै संशोधन गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौँ ।’

उनको उक्त प्रतिक्रियाले अदालतको अवहेलना भएको भन्दै जोशीले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

प्रतिक्रिया