निहारिकाले फिर्ता गरिन् करिश्माको सहयोग रकम र चश्मा
अखबार टुडे
प्रकाशित:
२०७९, १० भाद्र

काठमाडौं, १० भदौ । निहारिका राजपुतले अभिनेत्री करिश्मा मानन्धरको सहयोग रकम र छोरालाई किनिदिएको चश्मा फिर्ता गरेकी छन् ।

निहारिका शुक्रबार करिश्माको घरमा पुगेकी थिइन् । तर, घरनजिकै तीज मनाउन गएकी करिश्मालाई सोही स्थानमा पुगेर निहारिकाले २० हजारमा एक हजार थपेर सहयोग रकम फिर्ता गरीदिएकी हुन् ।

त्यहीं पुगेर पैसा फिर्ता गर्ने क्रममा विवाद र भनाभन समेत भएको थियो ।

गत असारमा निहारिका अनसनमा बसेको बेला करिश्माले उनलाई आर्थिक सहयोग गरेकी थिइन् । गत साता निहारिकाका निजी तस्वीर सेयर गरेपछि करिश्मा र निहारिकाबीच मनमुटाव सुरु भएको थियो ।

निजी तस्वीर सेयर गर्दै करिश्माले आफूले उनलाई गरेको सहयोगप्रति पश्चाताप व्यक्त गर्दै आफू मान्छे भएको, तर एटीएम कार्ड नभएको प्रतिक्रिया दिएकी थिइन् ।

आफ्ना निजी तस्वीर सेयर गरेको भन्दै निहारिकाले करिश्माविरुद्ध उजुरी दिने चर्चा छ ।

निहारिकालाई करिश्माले आरोपित शिवराज श्रेष्ठसँग निहारिकाका तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि निहारिका कानुनी उपचारमा जाने बताएकी छन् ।

यसैबीच निहारिकालाई मधेस सरकारले ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । आफू बलात्कृत भएको र बलात्कारीलाई अदालतले संरक्षण गरेको भन्दै महोत्तरीको जलेश्वरकी निहारिका काठमाडौंमा लामो समयदेखि आन्दोलनरत छिन् ।

उनलाई कानूनी लडाइ लड्न ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय मन्त्रिपरिषद्बाट भएको मधेस सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र साहले जानकारी दिए ।

प्रतिक्रिया