रुसले सेनाको संख्या १० प्रतिशत बढाउने
अखबार टुडे
प्रकाशित:
२०७९, १० भाद्र

काठमाडौं, १० भदौ । रूसले आफ्नो सैन्य संख्या १० प्रतिशत बढाउने भएको छ ।

रुसका राष्ट्रपतिले आगामी महिनाभित्र देशको सशस्त्र बलमा १ लाख ३७ हजार सैन्य कर्मचारी थप गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् ।

अहिले रुसमा १० लाखभन्दा बढी सैन्य कर्मचारी र करिब नौ लाख नागरिक कर्मचारीहरू छन् । पछिल्ले समय रुसले देशभर ठूलो नगद प्रोत्साहनसहित सैन्य भर्ती अभियान तीव्र परिरहेको छ ।

रुसी राष्ट्रपतिको कार्यालयले रुसी भाषामा प्रकाशित गरेको आदेश अनुसार रुसी संघको सशस्त्र बलको संख्यात्मक आकार ११,५०,६२८ सैन्य कर्मचारीहरू सहित २०,३९,७५८ मा सीमित गरिनु पर्ने प्रावधान छ । हालको सैन्य कर्मचारीहरूको सीमा १०,१३,६२८ तय गरिएको छ ।

बीबीसीका अनुसार अध्यादेशले यसका लागि संघीय बजेटबाट रकम उपलब्ध गराउन सरकारलाई आग्रह गरेको छ जुन सन् २०२३ को ज्यानुअरीदेखि लागू हुनेछ ।

यद्यपि, थप सैन्य संख्या स्वयंसेवकहरू लिएर बढाइन्छ वा बलपूर्वक भर्ती गरेर भन्ने कुरा स्पष्ट छैन । हाल १८ देखि २७ वर्ष उमेर समूहका रुसी पुरुषहरूलाई सैन्य सेवाको निम्ति डाकिएको छ ।

धेरैले भने उनीहरूको सेवा अवधिलाई चिकित्सकीय कारण देखाउँदै वा उच्च शिक्षाको लागि भर्ना भएर बेवास्ता गरेका वा घटाएका छन् ।

रुसले सुरुमा बलपूर्वक भर्ती गरिएका सिपाहीहरूलाई युक्रेनमा पठाएको थिएन । भर्ती भएकाहरूलाई सम्झौतामा हस्ताक्षर गर्न बाध्य पारिएको र कतिपय अवस्थामा रुसले उनीहरूलाई कैदी बनाएको पत्ता लागेपछि धेरै अधिकारीहरूलाई कारबाही गरिएको थियो ।

रुसी कानुन अनुसार त्यसरी भर्ती भएकाहरूलाई युद्धमा पठाउनुअघि चार महिनाको तालिम दिनुपर्छ ।

पश्चिमा अधिकारीहरूका अनुसार ६ महिनाअघि रुसले युक्रेनमाथि आक्रमण सुरु गरेदेखि हालसम्म करिब ७० देखि ८० हजार सैनिक मारिएको वा घाइते भएका छन् ।

युक्रेनविरुद्ध लडाइँको लागि आम मानिसको उत्साहको स्तर निकै कम देखिनुलाई आवश्यक वा माग गरिएको सङ्ख्या अनुरूप सेना भर्ती गराउन गाह्रो हुने सङ्केतको रूपमा बुझिएको छ ।

रुसले फेब्रुअरीमा युक्रेनमाथि आक्रमण सुरु गर्दा यो एक छोटो, निर्णायक सैन्य अभियान हुने बताएको थियो । तर कडा युक्रेनी प्रतिरोधका कारण रुसका निम्ति यस युद्धमा अपेक्षित प्रगति भएको छैन र पछिल्ला साताहरूमा अग्र मोर्चामा स्थिति केही कठिन बनेको छ ।

प्रतिक्रिया