काठमाडौं, ९ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले बिहीबार बुद्धनगरस्थित अल्फाबिटा कम्प्लेक्सको अनधिकृत संरचना भत्काएका छन् ।
अल्फाबिटाका सञ्चालकले दाबी गरे जस्तो ती संरचना नक्सा पास गरेर बनाएको नपाइएपछि दिउसो महानगरले संरचना भत्काएको हो ।
यसअघि बिहीबार बिहान सुरुमा मेयर शाहसहित पुगेको महानगरको टोलीले अल्फाबिटा कम्लेक्सका सञ्चालकलाई नक्सा विपरीत बेसमेन्टमा निर्माण गरिएका संरचना हटाउन आग्रह गरेको थियो ।
तर, नक्साको विषयमा कम्प्लेक्सका सञ्चालक र मेयर शाहबीच बिहान चर्काचर्की नै भएको थियो । कम्प्लेक्सका सञ्चालकले मेयर शाहसँगै नक्सा माग गरेपछि मेयर शाह दिउँसो नक्सासहित डोजर लिएर पुगे ।
संरचना भत्काइसकेपछि मेयर शाहले सामाजिक सञ्जालमा व्यङ्ग्यात्मक स्टाटससमेत साझा पोष्ट गरेका छन् । उनले आफ्नो नक्सा सञ्चालकले नै राख्नुपर्नेमा महानगरसँग मागेपछि नक्सासहित डोजर लिएर पुग्नुपरेको बताएका छन् ।
उनले लेखेका छन्, ‘उहाँले आफ्नै नक्सा मलाई माग्नु भयो। मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ। मैले के बिराए !’
उनले अबदेखि यस्तो गर्न नपरोस् भन्दै चेतावनी पनि दिएका छन् । सबैले आफैं बुझेर अवैधानिक रुपमा बनाइएका संरचना हटाइदिन पनि उनले अनुरोध गरेका छन् ।
नक्सा जसरी पास भएको छ, त्यसरी नै संरचना बनाइदिन मेयर शाहको अनुरोध छ ।