काठमाडौं, ९ भदौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुलाई अवमूल्यन नगर्न चेतावनी दिएका छन् ।
पार्टी स्थापना दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा अध्यक्ष नेपालले बालुवाटारमा भएको छलफलमा पनि साढे ४ लाख मत मात्र भएको तर्क आएको उनले बताए ।
तर २७ प्रतिशत सिटमा उम्मेदवारी दिँदा ९ लाख २७ हजार भोट पाएको दाबी गर्दै उनले भने, ‘देशभर उम्मेदवारी दिएको भए १५ देखि २० लाख भोट पाउन सक्दथ्यौं । १५ देखि २० लाख भोट पायौं भने १५/२० वटा सिटलाई कसैले रोक्न सक्दैन ।’
आफ्नो दललाई अवमूल्यन गर्न खोजे मुखदर्शक भएर नबस्ने र जनतामाझ जाने उनले बताए ।
अध्यक्ष नेपालले तत्कालिन नेकपा एमालेमा रहँदा केपी ओली प्रवृतिको समयमै विश्लेषण गर्न नसक्दा पार्टी विभाजन गर्नुपरेको बताए ।
‘ओली गुट यो तहमा कसरी आयो ? पुस ५ पछिको मात्रै विश्लेषण गरेर मात्रै पुग्दैन’, अध्यक्ष नेपालले भने, ‘नेपालको राजनीतिमा केपीले कहिलेदेखि गुटबन्दीको सुरुवात गरे र त्यस गुटबन्दीका विरुद्ध जुध्ने काम हामीले किन गर्न सकेनौ ?।’
उनले ओलीको गुटबन्दीविरुद्ध जति जुध्नुपर्ने थियो त्यति जुध्न नसक्दा ओलीको गुट विस्तारै बलियो हुँदै गएको नेपालले बताए ।
‘झापा संघर्षको बेला पनि को–के कालमा पनि जुध्ने काम भएको थियो । नेकपा मालेको कालमा पनि जुध्ने काम भएको थियो । एमालेकालमा पनि जुध्ने काम भयो तर जति जुध्नुपर्ने हो त्यति जुध्न सकेनौ’, अध्यक्ष नेपालको भन्, ‘जुध्न नसक्दा उनको गुट बलियो हुँदै गयो, भ्रम फैलाउँदै गए । विभिन्नलाई गोलबन्द गराउँदै गए र नवौं महाधिवेशनमा पार्टीको शक्ति हाँसिल गरे ।’
उनले पार्टी अध्यक्ष भएपछि वास्तविक चरित्र उजार हुँदै गएको भन्दै पार्टी एकता भएपछि आफूहरु खुसी भएपनि ओलीले आफ्नै पहलमा एकता भएको भनेर अहंकार देखाएपछि समस्या भएको बताए ।