युक्रेनमा स्वतन्त्रता दिवसको दिन रुसी आक्रमण, २२ जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७९, ९ भाद्र

काठमाडौं, ९ भदौ । युक्रेनले बुधवार स्वतन्त्रता दिवस मनाइरहेको बेला रुसले रकेट आक्रमण गरेको छ ।

युक्रेनको पूर्वी सहर च्याप्लिनको एक रेल स्टेसनमा रुसले गरेको रकेट हमलामा परी २२ जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन् ।

आक्रमणका पीडितमध्ये पाँच जनाको सवारी साधन भित्रै जलेर मृत्यु भएको बताइएको छ । आक्रमणमा परी एक ११ वर्षीय बालकको पनि मृत्यु भएको छ ।

बीबीसीका अनुसार राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को बैठकबीच आक्रमणबारे जानकारी दिएका थिए । यस विषयमा रुसले हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।

जेलेन्स्कीले आफू सुरक्षा परिषद्मा बोल्ने तयारी गरिरहेको बेला निप्रोपेट्रोभ्स्क क्षेत्रको च्याप्लिनमा भएको प्रहारबारे थाहा पाएको बताए । उनले भने, ‘अहिले चार वटा यात्रुवाहक सवारी साधनमा आगलागी भएको छ । त्यहाँ मृत्यु हुनेको सङ्ख्या बढ्न सक्छ ।’

जेलेन्स्कीले यसअघि नै स्वतन्त्रता दिवसको अवसरमा रुसले वाधा पु¥याउन ‘क्रूर’ कार्य गर्न सक्ने बताएका थिए । रुसले नागरिक भेलाहरू लक्षित आक्रमण गर्न सक्ने त्रासका कारण युक्रेनले ठूला जमघट र कार्यक्रमहरूमा प्रतिबन्ध लगाएको थियो ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले यस अर्थहीन युद्धका कारण युक्रेन र त्यहाँ बाहिरका लाखौँ मानिसहरूलाई चरम गरिबीमा धकेल्न सक्ने चेतावनी दिएका छन् ।

युक्रेनको स्वतन्त्रता दिवसको अवसरमा विश्वभर मानिसहरू युक्रेनको समर्थनमा जम्मा भएका थिए । उक्त अवसरमा विश्व नेताहरूले पनि यस सङ्कटग्रस्त राष्ट्रप्रति समर्थन व्यक्त गरेका थिए ।

ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसन आफ्नो देशको समर्थन दर्शाउन किएभमा उपस्थित भएका थिए । सो क्रममा उनले नयाँ सैन्य सहायता अन्तर्गत करिब ६४ मिलियन डलर उपलब्ध गराउने घोषणा पनि गरे ।

मस्कोले युक्रेनमा आक्रमण सुरु गरेको ६ महिना पूरा भएको दिन उक्त घटना भएको हो ।

प्रतिक्रिया