उपचार खर्च पाउन मृगौला, क्यान्सर र पक्षघात रोगीलाई निवेदन दिन काठमाडौं महानगरको आह्वान
अखबार टुडे
प्रकाशित:
२०७९, ९ भाद्र

काठमाडौं, ९ भदौं । काठमाडौं महानगरपालिकाले मृगौला प्रत्यारोपण गरेका, डाइलासिस गराइरहेका, उपचाररत क्यान्सर रोगी, मेरुदण्ड तथा पक्षघात भएका बिरामीलाई औषधि उपचारबापत खर्च दिने भएको छ ।

महानगरको स्वास्थ्य विभागले खर्च सुविधा लिनका लागि निवेदन दिनसमेत आह्वान गरेको छ । सरकारी अस्पतालमा मृगौला प्रत्यारोपण गरेका, डाइलासिस गराइरहेका, क्यान्सर रोग भएका, मेरुदण्ड पक्षघात भएका बिरामीको लामो समय औषधि उपचार गर्नुपर्ने र खर्चिलो हुने हुँदा बिरामीलाई हुन जाने आर्थिक भार कम गर्न औषधि उपचार बापतको खर्च उपलब्ध गराउने नीतिअनुसार निवेदन दिन आह्वान गरिएको महानगरले जनाएको छ ।

महानगरका अनुसार जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ६४ ले दिएको अधिकार प्रयोग गरी मन्त्रालयबाट जारी गरिएको ‘मृगौला प्रत्यारोपण गरेका, डाइलासिस गराइरहेका, उपचारमा रहेका क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीलाई औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७८ कार्यान्वयन गर्न २०७९/४/३१ मा भएको निर्णयअनुसार खर्च प्रदान गर्न लागिएको हो ।

काठमाडौँ महानगरपालिकामा स्थायी बसोबास गर्ने मृगौला प्रत्यारोपण गरेका, डाइलासिस गराइरहेका, उपचारमा रहेका क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका तर नेपाल सरकारबाट कुनै प्रकारको सेवा सुविधा तथा सामाजिक सुरक्षा भत्ता नलिएका बिरामीले नाम दर्ता गर्न आ–आफ्नो वडा कार्यालयमा निवेदन दिन महानगरले आग्रह गरेको हो ।

आवेदन दिँदा नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि र नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, अन्यत्रबाट बसाइँ सरी आएको हकमा बसाइँसराइ प्रमाणपत्रको प्रतिलिपि, चिकित्सकबाट प्रमाणित गरिएको कार्यविधिमा रहेको अनुसूची १ बमोजिमको फाराम, अनुसूची १ फाराम प्रमाणित गर्न उपचार भइरहेको अस्पतालको चिकित्सकबाट प्रमाणित गरिएका अन्य कागजातहरू, अनुसूची २ अनुसार ढाँचाको निवेदन र मेरुदण्ड पक्षघात भएका व्यक्तिहरूका हकमा अपाङ्गता परिचय पत्रको (रातो वा निलो) प्रतिलिपिसहित निवेदन दिन महानगरले आग्रह गरेको छ ।

प्रतिक्रिया