
काठमाडौं, ९ भदौ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले नेकपा एमाले कार्पेरेट हाउस भएको टिप्पणी गरेका छन् ।
बागमति प्रदेशअन्तर्गतका सबै जिल्ला समन्वय समिति संयोजक र गाउँपालिका तथा नगरपालिकाको संगठनात्मक कार्यशालालाई बुधबार साँझ राजधानीमा सम्बोधनका क्रममा पुनले भने, ‘एमाले पार्टी होइन, कर्पोरेट हाउस हो । ओली कर्पोरेट हाउसमा सिईओ र अरू नेता डाइरेक्टर, डेपुटी डाइरेक्टर जस्ता छन् ।’
उनले एमाले विचार र सिद्धान्तमा नभई नाफा र स्वार्थका लागि चलेको आरोप लगाए । उनले भने, ‘एमालेमा मानिसहरू बसिरहेको विचार र राजनीतिले होइन । ठूलो कार्पोरेट हाउसमा बस्दा फाइदा धेरै हुन्छ । ब्राण्ड बिक्छ, कर्पोरेटमा तलब÷सुविधा बढ्छ, बोनस पाइन्छ भनेर हो । कर्पोरेट हाउसमा कामदारहरू नाफाका लागि मिहेनत गर्छन्, ज्यान दिन पनि तयार हुन्छन् । एमालेका नेता कार्यकर्ता त्यस्तै भएका छन् ।’
अधिकांश एमालेजन पार्टी पार्टीजस्तो नभई कर्पोरेट कम्पनी भएकोबारे जानकार भए पनि नाफाका लागि उनीहरु एमालेमै बसिरहेको उल्लेख गरे । ओली मुख्य नेतृत्वमा आएपछि एमालेलाई नीति, विचार, सिद्धान्त र कार्यक्रमविहीन कम्पनीमा रूपान्तरण गरेको उनको भनाइ थियो ।
उनले कर्पोरेट संस्कारमा हुर्किएका कारण एमाले कार्यकर्ताले केपी ओलीले दुई पटकसम्म संविधान मिचेर प्रतिनिधिसभा विघटन गर्दा र व्यवस्थामाथि नै प्रहार गर्दा पनि बोल्न नसकेको टिप्पणी उनको थियो ।
माओवादी केन्द्र भने विचार, राजनीति र सिद्धान्त आधारित समाजवादी कार्यदिशा बोकेको पार्टी भएको दाबी गर्दै पुनले विचारलाई बोक्न सक्ने संगठन पनि आफूहरुसँग रहेको बताए ।
फरक प्रसंगमा पुनले गठबन्धन आवद्ध अरू दललाई बाँडेर बाँकी रहेको सिटमध्ये ६० प्रशितमा काँग्रेस र ४० प्रतिशत स्थानमा माओवादीले लिने गरी एक÷दुई दिनभित्रै सिट बाँडफाँटको टुंगो लाग्ने बताए ।
केपी ओलीको दक्षिणपन्थी प्रवृत्ति र प्रतिगमनलाई निर्वाचनमार्फत पराजित गरिने भन्दै उनले आफूहरुले देशलाई राजनीतिक स्थायित्व र समृद्धिको दिशामा अघि बढाउने प्रतिबद्धता जनाए ।
