
काठमाडौं, ८ भदौ (एजेन्सी) । थाइल्याण्डका प्रधानमन्त्री प्रयुत ओ चान निलम्बनमा परेका छन् ।
त्यहाँको संवैधानिक अदालतले प्रधानमन्त्री ओचालाई उनको कार्यकालको सीमालाई कानुनी चुनौती मान्दै आधिकारिक कर्तव्यबाट निलम्बन गरेको हो ।
विपक्षी दलहरूले प्रधानमन्त्रीको कार्यकाल समाप्त भएको तर्क गर्दै मुद्दा दायर गरेका थिए । विपक्षीले दिएको मुद्दा हेर्न बसेको नौ जनाको इजलासमा पाँच जनाले प्रधानमन्त्रीलाई निलम्बन गर्नुपर्ने राय राखेका थिए ।
उनी थाइल्याण्डमा सन् २०१४ मा सैन्य कु भएदेखि प्रधानमन्त्री रहेका छन् । उनले संविधान संशोधन गरेर सरकार र संसदमा सैन्य सहभागिता बढाएका थिए ।
सैन्य सहभागिता बढेपछि कानुन पनि त्यही अनुसार बनाउँदै उनले निरंकुशता लादेको विपक्षीहरूको आरोप छ । विपक्षीहरुले उनको कार्यकाल सन् २०१४ को अगस्ट देखि नै गणना गर्नुपर्ने दाबी गरेका छन् ।
तर प्रधानमन्त्री प्रयुत र सत्तारुढ दलले भने सन् २०१९ मा भएको आम निर्वाचनपछि मात्रै उनको कार्यकाल गणना हुने तर्क गरेका छन् ।
त्यो भन्दा अगाडि उनी अन्तरिम प्रधानमन्त्रीका रुपमा रहेको उनीहरुको भनाई छ । थाइल्याण्डको संविधानले प्रधानमन्त्रीलाई आठ वर्षको कार्यकालमा सीमित गरेको छ।