बालुवाटारमा देउवा र ओलीबीच भेटवार्ता, के भयो कुराकानी ?
अखबार टुडे
प्रकाशित:
२०७९, ८ भाद्र

काठमाडौं, ८ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् ।

देउवासँग कुराकानी गर्न अध्यक्ष ओली ओलीको साथमा संसदीय दलका उपनेता सुवास नेम्वाङ र उपाध्यक्ष विष्णु पौडेल सहभागी थिए । भेटवार्तामा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी थिए ।

झण्डै डेढ घण्टा भएको छलफलमा अध्यक्ष ओलीले प्रधानमन्त्री देउवासँग विभिन्न विषय उठान गरेका छन् । सरकारले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा गर्दा आफूहरूसँग परामर्श नगरेको एमालेको आरोप लगाएको छ ।

ओलीले आगामी निर्वाचन निष्पक्ष, धाँधलीरहित र विश्वसनीय हुनु पर्नेमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराए ।

शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुगोस् भन्ने पनि ओलीले प्रधानमन्त्रीसँग कुरा राखेका छन् ।
सरकारले प्रतिनिधि सभामा हालै बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण मेलमिलाप आयोगको ऐनको संशोधनसम्बन्धी विधेयक छलफलका लागि पेश गरेको थियो ।
सरकारले यस्ता विधेयक ल्याउँदा प्रमुख प्रतिपक्षीसँग छलफल नगरेको पनि एमालेले बताउँदै आएको थियो ।

ओलीले राष्ट्रपतिले फिर्ता गरेपछि फेरि संसदमा पुगेको नागरिकता विधेयकबारे पनि प्रधानमन्त्री देउवासँग कुरा राखेका छन् । सरकारले दुबै सदनबाट नागरिकता विधेयक पारित गरी सभामुखमार्फत् प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाएको थियो ।

तर राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त विधेयक पुनः संसदै फिर्ता पठाएकी थिइन् । सरकारले हुबहु फेरि नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित गरेको छ ।

यस्तै, ओलीले प्रधानमन्त्रीसँग मूल्यवृद्धिका विषय पनि उठएका थिए । दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि भए पनि सरकारले नियन्त्रणका लागि खासै पहल नगरेको आरोप एमालेको छ । ओलीले प्रधानमन्त्री देउवालाई मूल्यवृद्धि नियन्त्रण गर्न ध्यानाकर्षण गराए ।

एमाले अध्यक्ष ओलीले राखेका विषयमा प्रधानमन्त्री देउवाले सकारात्मक रूपमा लिने बताएको भेटवार्तामा सहभागी कांग्रेस सञ्चार मन्त्री एवं प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले उल्लेख गरे ।

यीबाहेक अध्यक्ष ओलीले गठबन्धनले निषेधको राजनीति अघि बढाएको आरोप लगाए । ओलीको भनाइ उद्धृत गर्दै एमाले उपाध्यक्ष सुवास नेम्वाङले भने, ‘लोकतन्त्रमा सत्ता पक्ष र प्रतिपक्ष हुन्छन्। उनीहरूबीच प्रतिस्पर्धा हुन्छ। तर एमालेलाई निषेध गर्नका निम्ति सत्ता गठबन्धन ७ दलीय पुग्यो । अब ८,९, १० कति पु¥याउनुहुन्छ? ।’

प्रतिक्रिया