ज्यालाबारे विरोधमा उत्रेका नेपालसहित विभिन्न मुलुकका श्रमिकलाई कतारद्वारा देश निकाला
अखबार टुडे
प्रकाशित:
२०७९, ८ भाद्र

काठमाडौं, ८ भदौ । आगामी नोभेम्बरमा विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्न लागेको कतारले ज्याला नपाएको भन्दै विरोधमा उत्रिएका आप्रवासी कामदारलाई देशबाट निकाला गरिदिएको छ ।

कामदारहरुले कतारको सुरक्षा कानुन तोडेर आन्दोलन र ¥याली गरेको भन्दै देशकिाला गरिएको हो ।
इक्वीडेम नामक मानवअधिकारवादी संस्थाका अनुसार त्यसरी निकालिनेमा नेपाल, बाङ्ग्लादेश, भारत, इजिप्ट र फिलिपिन्सका श्रमिक रहेको बीबीसीले जनाएको छ ।

कम्तीमा ६० जना कामदारहरूले निर्माण कम्पनी अल बन्दारी इन्टर्न्याशनल ग्रुपको दोहास्थित कार्यालय सामु अगस्ट १४ मा ¥याली गरेका थिए । कतिपयले सात महिनादेखि ज्याला नपाएको बताएका छन् ।

विरोधमा उत्रिएका केही कामदार पक्राउ परेका भने केहीलाई देशबाट निकाला गरिएको हो । तर स्पष्ट संख्या नखुलाइएको छैन ।

अहिले विवादमा परेका श्रमिकहरू विश्वकप तयारीकै निर्माण कार्यमा सामेल थिए वा थिएनन् भन्ने जानकारी छैन । आयोजक समितिले यसबारे टिप्पणी गर्न अस्वीकार गरेको बीबीसीले जनाएको छ ।

श्रमअधिकारबारे विज्ञता हासिल गरेको इक्वीडेम नामक मानवअधिकारवादी संस्थाका प्रमुख मुस्तफा कादरीले उनीहरू कुनै राजनीति नगरेको भन्दै केवल आफ्नो श्रमको ज्याला मागेको बताए ।

कादरीले बीबीसीसँग भने, ‘४२ डिग्रीको तातोमा विरोधमा उत्रिन समेत बाध्य हुनेगरि उनीहरू कति अप्ठेरोमा परेका थिए होलान् भनेर तपाईँ कल्पना गर्नसक्नुहुन्छ? । उनीहरू कुनै राजनीति गरिरहेका थिएनन् । केवल आफ्नो श्रमको ज्याला मागिरहेका थिए ।’

अल बन्दारी इन्टनेशनल ग्रुप नामक कम्पनी निर्माण तथा इन्जिनियरिङमा संलग्न छ । ती कम्पनीले अनुरोधको कुनै जबाफ नदिएको बताइएको छ । यस्तै, कतार विश्वकप आयोजक समितिका प्रवक्ताले यो घटनाबारे टिप्पणी गर्न अस्वीकार गरेको छ ।

यता कतारी सरकारले दोहाको दुर्लभ विरोधमा सामेल केही कामदारलाई सार्वजनिक सुरक्षा कानूनको उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको स्वीकार गरेको छ ।

सरकारले शान्त रहन नसकेका केही कामदारलाई देश निकाला गरिने भनिए पनि अधिकारवादी संस्थाहरूले केही कामदारहरू कतार छाडेर गइसकेको दाबी गरेका छन् ।

यसैबीच कतार सरकारले विलम्ब गरिएका सबै तलबज्याला तथा सुविधाहरू मर्का परेका श्रमिकहरूलाई तिरिने बताएको छ । बन्दारी ग्रुप यसअघिदेखि नै कामदारलाई ज्याला नदिएका उजुरीहरूका कारण अनुसन्धानको घेरामा परिसकेको पनि कतार सरकारले जनाएको छ ।

तलबज्याला तिरिसक्न उसलाई दिइएको समयसीमा नाघेका कारण अब थप कारबाही हुने बताइएको छ ।

कतार सरकारका अनुसार काम लगाउने कम्पनीले ज्याला दिनुपर्ने समयको सातदिनभित्र सबै ज्याला कतारी बैंकमार्फत् भुक्तानी गरिसक्नुपर्ने हुन्छ ।

सन् २०१० मा विश्वकप फुटबल आयोजना अधिकार पाएयता कतारले रङ्गशाला तथा अन्य पूर्वाधार निर्माणलाई तिब्रता दिएको छ। यो सँगै उसले आप्रवासी श्रमिकप्रति गर्ने व्यवहारमाथि बारम्बार प्रश्न उठिरहेका छन् ।

प्रतिक्रिया