चितवन, ८ भदौ । नेकपा माओवादी केन्द«का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेले प्रचार गरेजस्तो नागरिकता विधेयक राष्ट्रघाती नभएको जिकिर गरेका छन् ।
बुधबार बिहान चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘आमाबुवा दुवै नेपाली भएका नागरिकका सन्तानले नागरिकता पाउने कुरा मात्रै हो । उनीहरू सबै अवसरबाट बञ्चित भए । त्यो स्थितिको अन्त्य गर्ने कुरा हो । त्यसकारण यसलाई राष्ट्रघाती भन्नु पाखण्डबाहेक केही हुँदैन ।’
नागरिकता विधेयक संसदमा ल्याउँदा एमालेले राष्ट्रघाती भन्नु बेइमानी र अनैतिकताबाहेक अरु केही नभएको उनले बताए ।
‘केपी ओली प्रधानमन्त्री हुँदा अध्यायदेशका रुपमा यही विधेयक लिइएको थियो । जसले यही विधेयक अध्यादेशका रुपमा लिएका थिए तिनिहरूले राष्ट्रघाती भन्दा बेइमानी र अनैतिकताबाहेक अरु केही हुनै सक्दैन,’ उनले भने ।
एमालेले चुनाव नजिकिएका बेला राष्ट्रवादको मुकुन्डो लगाएर भोट बटुल्नका लागि जनतालाई भ्रम पार्न यस्तो गलत प्रचार गरेको प्रचण्डको टिप्पणी छ । उनले नेपाली जनता सचेत भएकाले यस्तो पाखण्डी प्रचारबाट कोही भ्रममा नपर्ने बताए ।
प्रचण्डले यसअघि राज्य व्यवस्था समितिबाट सात वर्षे वैवाहिकत अंगीकृतको प्रावधान पारित भएको तर केपी ओलीले नै संसदमा लैजान नमाने दाबीसमेत गरे ।