‘एन्जेलिना’ लिएर आइन् अनिला, बाबु-छोरीको कृति एकैसाथ लोकार्पण (भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०७९, ७ भाद्र

काठमाडौं, ७ भदौं । गायिका तथा गीतकार अनिला राई एकसाथ दुई कृति लिएर आएकी छन् । गायिका अनिलाले गीति एल्बम ‘एन्जेलिना’ र गीति पुस्तक ‘योद्धा, पपी फूल र म’ लिएर आएकी हुन् ।

गायिका अनिलाले आफ्नो जन्मदिनको अवसर पारेर मंगलबार राजधानीमा एक समारोहबीच तीन कृतिको एकसाथ लोकार्पण गरिएको हो । बर्थ–डे केक काटेर सुरु गरिएको कार्यक्रममा अनिलाको गीति एल्बम ‘एन्जेलिना’, गीति पुस्तक ‘योद्धा, पपी फूल र म’ तथा कविता संग्रह ‘अक्षरको ऐना’ सार्वजनिक गरिएको हो ।

‘अक्षरको ऐना’ गायिका अनिलाका बुबा गंगा राईले लेखेका हुन् । बाबु–छोरीको कृतिलाई कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ साहित्यकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वप्राज्ञ अमर गिरि, बरिष्ठ कवि भूपाल राईलगायतले संयुक्तरुपमा लोकार्पण गरेका थिए ।

सार्वजनिक गरिएको ‘एन्जेलिना’ अनिलाको सातौँ एल्बम हो । गीति पुस्तक भने उनको पहिलो हो । एल्बम ‘एन्जेलिना’मा नौ वटा गीत संग्रहीत छन् । जसमा अनिलाको एकल शब्दरचना रहेको छ ।

एल्बममा संग्रहीत नौ वटा गीतमध्ये दुई वटा गीतमा गायक रोशन राईले स्वरमा साथ दिएका छन् । एल्बममा ‘धाराको पानी’, ‘प्यारी छोरी’, पपी फूल’, ‘बेलायतको उत्तरी भेग’, ‘आमा’, ‘ढिडो र सिस्नु’, ‘पठाउँदै छ युद्ध भूमि’, ‘साकेला’ र ‘चिसो चिसो मौसम छ’ बोलका गीत रहेका छन् ।

यी गीतहरुमा सात वटामा अनिलाको एकल स्वर रहेको छ भने ‘धाराको पानी’ र ‘चिसो चिसो मौसम छ’ मा गायक रोशन राईले स्वरमा साथ दिएका छन् ।

‘प्यारी छोरी’, पपी फूल’, ‘बेलायतको उत्तरी भेग’, ‘आमा’ र ‘पठाउँदै छ युद्ध भूमि’ गीतमा शान्तिराम राईको संगीत रहेको छ । यस्तै, ‘धाराको पानी’ बोलको गीतमा संगीत रोशन राईले गरेका हुन् ।

यस्तै, ‘ढिँडो र सिस्नु’मा डाक्टर किरात र ‘साकेला’ मा जसिहाङ राई र ‘चिसो चिसो मौसम छ’मा सचिन सिंहको संगीत रहेको छ ।

गीति पुस्तक ‘योद्धा, पपी फूल र म’ एक सय १२ वटा गीत संग्रहीत छन् m जसमध्ये नौ वटा गीत रेकर्ड गरिएको हो ।
यस्तै, सार्वजनिक गरिएको गंगारामको कविता संग्रह ‘अक्षरको ऐना’ मा २४ कविता रहेका छन् ।

कार्यक्रममा तीन वटा गीतको भिडियो सार्वजनिक गरिएको थियो । ‘धाराको पानी’, ‘प्यारी छोरी’ र ‘आमा’को गीतको भिडियो कार्यक्रममा प्रिमियर गरिएको थियो ।

‘धाराको पानी’ गीतको भिडियोलाई कमल राईले गरेका हुन् । भिडियोमा योगेन्द्र राई र उपशना नेम्बाङले अभिनय गरेका छन् ।
यस्तै, ‘प्यारी छोरी’ गीतको भिडियोमा गायिका अनिला र उनकी छोरी एन्जेलिना नै फिचरिङ छन् भने ‘आमा’ मा अनिला, उनकी आमा सत्यवति र एन्जेलिना राईले अभिनय गरेका छन् ।

कार्यक्रममा कवि तथा गीतकार बसन्त मुकारुङ, शिव ढकाल, बरिष्ठ संगीतकार तथा प्राज्ञ शान्तिराम राई, गायिका सत्यकला राई, पार्वती राई, कला राई, राई नविन, रुपकुमार राई, विनोद खम्बु राई, गायिका मनिता चाम्लिङ राई, मीना राई, मोडल तथा ब्युटिसियन मौसमी कन्दङवा, बविना किरातीलगायका कालाकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रम चर्चित गीतकार टिका चाम्लिङले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया