काठमाडौं, ७ भदौ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले अघिल्लो सरकारले प्रदेशको नामाकरण गर्न नसकेको तर त्यसको दोष आफूलाई दिने गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।
मुख्यमन्त्री राईले केपी शर्मा ओली नेतृत्वको सरकारले प्रदेश १ को नामाकरण टुंगो लगाउन नसकेर प्रदेशलाई नै जिम्मा लगाएको भन्दै अहिलेको मुख्यमन्त्रीको काँधमा बन्दुक राखेर पड्काउन खोज्नु गलत भएको बताए ।
संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको आयोजित छलफल कार्यक्रममा बोल्दै उनले यसअघिका सरकारले पहिचानका आधारमा प्रदेशको नामाकरण गर्ने कुरा पहिल्यै उठिसकेको भन्दै आलोचना खेप्न नसकेर अरुलाई जिम्मा लगाएको दाबी गरे ।
‘नाम टुंग्याउने विषयमा पनि एउटा त संघको डिजाइनको नाममा नै पहिचानको कुरा उठेको थियो । आफूले नसकेर तल पठाउने अनि अहिले पछि बसेर अर्काको काँधमा बन्दुक राखेर पड्काउन खोज्ने, यस्तो कुरा पनि गर्ने?’, उनले भने, ‘तपाईंहरुलाई चाहिएको भए त्यही बेला घोषणा गर्दा हुँदैन थियो? ।
मुख्यमन्त्री राईले संविधानमा नाम टुंग्याउने विषयमा केन्द्रको निर्देशन र ह्वीपको परिकल्पना नरहेको जिकिर गरे ।
मुख्यमन्त्री राईले संघीयता भित्र प्रदेश संरचना निर्माण भइसकेपछि विकासको तानाशाहीकरण भएको आरोप लगाए । उनले संघको नेतृत्वले आफैं अधिकार र बजेट मुठ्यार प्रदेश सरकार र स्थानीय सरकारलाई निम्छरो बनाइ आलोचना गरिरहेको आरोप लगाए ।
पर्याप्त बजेट र अधिकार नदिँदा पनि प्रदेश सरकारको योजना संघीय सरकारको भन्दा बढी रहेको भन्दै मुख्यमन्त्री राईले प्रदेशमा नै आएर योजना गणना गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौती दिए ।
संघीयता सैद्धान्तिक रुपमा हुनुपर्ने जस्तो नरहेको उल्लेख गर्दै उनले जे कारणले संघीयता ल्याउन खोजेको हो त्यस्तौ संघीयताको डिजाइन हुन नसकेको बताए ।